इरानको राजधानी तेहरानसहित देशका विभिन्न सहरमा विशाल प्रदर्शन
इरानको राजधानी तेहरानसहित देशका विभिन्न सहरमा सरकारविरोधी विशाल प्रदर्शन भएका छन्। भिडिओ र सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिएको देखिन्छ, जसलाई धर्मगुरुहरूको सत्ताविरुद्ध वर्षौँपछि देखिएको खुला शक्ति प्रदर्शनका रूपमा लिइएको छ। बिहीबार साँझ तेहरान र दोस्रो ठूलो सहर मशादमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाफौजले प्रारम्भिक रूपमा हस्तक्षेप नगरेको भिडिओहरूलाई बीबीसी पर्सियन सेवाले प्रमाणित गरेको छ।
प्रदर्शन भएको केही समयपछि देशव्यापी रूपमा इन्टरनेट सेवा अवरुद्ध गरिएको एक अनुगमनकारी समूहले जनाएको छ। भिडिओहरूमा प्रदर्शनकारीहरूले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईलाई सत्ताच्युत गर्नुपर्ने माग गर्दै पूर्वराजा शाह मोहम्मदका निर्वासनमा रहेका छोरा रेजा पह्लवीलाई सत्तामा फर्काउनुपर्ने नारा लगाइरहेका सुनिन्छ। पह्लवीले यसअघि आफ्ना समर्थकहरूलाई सडकमा उत्रिन आह्वान गरेका थिए।
इरानी मानवअधिकार समूहहरूका अनुसार, इरानी मुद्रा रिआलको तीव्र अवमूल्यन र बढ्दो महँगीका कारण देशभर फैलिएको अशान्ति लगातार १२औँ दिनमा प्रवेश गरेको छ। अमेरिकामा आधारित ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी (एचआरएएनए) ले अहिलेसम्म कम्तीमा ३४ जना प्रदर्शनकारीको मृत्यु भएको दाबी गरेको छ, जसमा पाँच जना बालबालिका र आठ जना सुरक्षाकर्मी पनि छन्। साथै, २,२७० जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका बताइएको छ। नर्वेमा रहेको इरान ह्युमन राइट्स (आईएचआर) ले भने सुरक्षा फौजको कारबाहीमा आठ बालबालिकासहित कम्तीमा ४५ जनाको ज्यान गएको जनाएको छ। बीबीसी पर्सियनले २२ जनाको मृत्यु पुष्टि गरेको छ भने इरानी अधिकारीहरूले छ जना सुरक्षाकर्मीको मृत्यु भएको बताएका छन्।
मशाद, इस्फहान, तब्रिज, बबोललगायत सहरमा सार्वजनिक भएका भिडिओहरूमा प्रदर्शनकारीहरूले “शाह जिन्दावाद”, “यो अन्तिम लडाइँ हो, पह्लवी फर्किनेछन्” र “तानाशाह मुर्दाबाद” जस्ता नारा लगाइरहेको देखिन्छ। केही स्थानमा प्रदर्शनकारीहरूले सडकमा जडान गरिएका सीसीटीभी क्यामेराहरू हटाइरहेका दृश्य पनि देखिएका छन्। तेहरानका विभिन्न क्षेत्रबाट प्राप्त भिडिओमा सुरक्षाकर्मीसँग झडपपछि पनि प्रदर्शनकारीहरू “नडराऊ, हामी सबै सँगै छौँ” भन्दै अघि बढिरहेको देखिन्छ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि राजतन्त्र अन्त्य भएको इरानमा हाल अमेरिकाको वाशिङ्टन डीसीमा बसोबास गर्दै आएका रेजा पह्लवीले सामाजिक सञ्जालमार्फत “लाखौँ इरानीहरूले स्वतन्त्रताको माग गरेका” भन्दै प्रदर्शनकारीहरूको प्रशंसा गरेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई “सत्तालाई जवाफदेही बनाएको” भन्दै धन्यवाद दिएका छन् र युरोपेली नेताहरूलाई पनि कडा भूमिका खेल्न आग्रह गरेका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी अधिकारीहरूले प्रदर्शनकारीमाथि दमन गरी ज्यान लिने कार्य गरेमा सैन्य हस्तक्षेप गर्न सक्ने चेतावनी दिएका छन्। एक अन्तर्वार्तामा उनले हिंसा जारी रहेमा अमेरिका कडा कदम चाल्न तयार रहेको बताएका छन्। अर्कोतर्फ, इरानका राष्ट्रपति मसूद पेजेश्किआनले शान्तिपूर्ण प्रदर्शनको सामना गर्दा सुरक्षाफौजलाई अधिकतम संयम अपनाउन निर्देशन दिएका छन्। सरकारी विज्ञप्तिमा कुनै पनि प्रकारको हिंसा वा जबरजस्ती नगर्न आग्रह गरिएको छ।
इरानभर फैलिएको यो आन्दोलनले देशको आन्तरिक राजनीतिक अवस्था मात्र होइन, क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिमा समेत गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ। हिमालपत्रीका



