ओलि सरकारको पालामा अनुदानमा खोप अस्वीकार गरेर कमिसनको चक्करमा खोप खरीद
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकारले ६५ प्रतिशत नागरिकलाई पूर्ण मात्रामा खोप प्रदान गरेको छ ।
सत्तामा आएको ६ महिनामै देउवा सरकारले आधा भन्दा बढी जनसंख्यालाई खोप लगाएर सफलता हात पारेको हो । जबकी केपी ओली सरकार तीन वर्ष सत्तामा बस्दा खोप ल्याउनै ढिलाई गर्यो ।
छिमेकी र मित्र राष्ट्रले अनुदानमा खोप दिँदा पनि त्यसलाई अस्वीकार गरेर कमिसनको चक्करमा खोप खरीद गर्ने र खरीद गरेर पनि समयमा स्वदेश ल्याउने काम भएन । ओलीको पालामा स्वास्थ्यमन्त्री बनेका स्वतन्त्र सांसद हृदेश त्रिपाठीले हालै एक अन्तर्वार्तामा यो कुराको खुलासा गरेका थिए ।
हुन त मन्त्री हुँदै पनि खोपमा भ्रष्टाचार भएको भनेर उनले तथ्य बाहिर ल्याएपछि तत्कालीन प्रधानमन्त्री ओली रुष्ट बनेका थिए । जे होस् ओली सरकार कमिसन चक्करमा खोप ल्याउन ढिलाई गरिरहँदा देउवा सत्तामा आएपछि नागरिकले धमाधम खोप पाए । अमेरिकाले एकैपटक लाखौ मात्रामा खोप अनुदानमा दियो । प्रधानमन्त्री देउवा आफै लाइनमा बसेर नागरिकसँगै खोप लगाए ।
सत्तामा आउने वित्तिकै खोपलाई प्राथमिकता दिएका प्रधानमन्त्री देउवाले आफ्नो ६ महिने कार्यकालमा ६५ प्रतिशत नागरिकलाई डबल डोज खोप दिन सफल भएका हुन् । यद्यपि देउवा यतिमा सन्तुष्ट छैनन् । चैतसम्म शतप्रतिशत खोप लगाइसक्ने उनको लक्ष्य छ ।
प्रधानमन्त्री देउवाले कोभिड नियन्त्रणका लागि खोप नै प्रभावकारी माध्यम भएको बताए । देउवाले चैतसम्म सबैलाई खोप लगाइसक्ने उद्देश्य अनुसार खोप वितरण भइरहेको जानकारी दिए ।
६५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाउने काम सम्पन्न भएको भन्दै यसलाई उनले आफ्नो सरकारको उपलब्धिका रुपमा प्रस्तुत गरे । स्वास्थ्य प्रणालीमा साधनस्रोतको कमी हुन नदिने गरी चुस्त दुरुस्त व्यवस्था मिलाइएको देउवाले बताए । उनले तराई मधेशमा हुने शीतलहर र हिमालमा हिमपातका कारण कसैको पनि ज्यान नजाने व्यवस्था मिलाइएको जानकारी दिए ।


