६ मंसिर २०८३, शनिबार

नेपालगन्ज–११ को नेतृत्वका आकांक्षी इरफान जसगढको मुख्य एजेन्डा शिक्षा विकास, विपन्न विद्यार्थीलाई छात्रवृत्ति र निःशुल्क कोचिङको प्रतिबद्धता

एसीपी संवाददाता

६ मंसिर २०८३, शनिबार १५:४० मा प्रकाशित

नेपालगन्ज, मंसिर ५ गते —  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ को आगामी नेतृत्वका लागि वडा अध्यक्ष पदका आकांक्षी इरफान जसगढले शिक्षा क्षेत्रको सुधारलाई आफ्नो प्रमुख चुनावी एजेन्डाका रूपमा अघि सार्नुभएको छ।
‘जनताको माग, जनताको आवाज’ र ‘आवाज जनताको, अभियान परिवर्तनको’ भन्ने नारासहित अघि बढ्नुभएका जसगढले गुणस्तरीय शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको बताउनुभएको छ।

विकास, सुशासन, पारदर्शिता र परिवर्तनलाई मुख्य प्राथमिकतामा राख्नुभएका जसगढले वडा नम्बर ११ भित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार, विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्रविधिमैत्री शिक्षण सिकाइ प्रणालीलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।उहाँले आर्थिक अभाव र अवसरको कमीका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुनेमा जोड दिनुभएको छ।

‘जनताको आवश्यकता नै हाम्रो पहिलो प्राथमिकता हो,’ जसगढले भन्नुभयो, ‘वडाका कुनै पनि बालबालिका आर्थिक अभाव वा पहुँचको कमीका कारण शिक्षाको उज्यालोबाट वञ्चित हुनुहुँदैन। गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति र निःशुल्क कोचिङ कक्षाको व्यवस्था गर्न म विशेष पहल गर्नेछु।’

स्थानीय तहबाटै शिक्षाको जग बलियो बनाउन सके दक्ष, सक्षम र जिम्मेवार जनशक्ति उत्पादन हुने उल्लेख गर्दै उहाँले शिक्षा क्षेत्रको सुधारसँगै वडा नम्बर ११ को समग्र सामाजिक तथा भौतिक विकासलाई समेत प्राथमिकतामा राख्ने बताउनुभएको छ।

वडावासीको अधिकार, सम्मान र समृद्धिका लागि आफूले वडा अध्यक्ष पदमा आकांक्षा राखेको स्पष्ट पार्दै जसगढले जनताको विश्वास र साथबाट मात्रै वास्तविक परिवर्तन सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ।‘जनताको साथ, जनताको विश्वास–समृद्ध समाज निर्माण हाम्रो प्रयास’ भन्ने मूल मन्त्रका साथ अघि बढ्नुभएका उहाँले शिक्षा, स्वास्थ्य, विकास र सुशासनलाई प्राथमिकतामा राखेर वडा नम्बर ११ लाई व्यवस्थित, शिक्षित र समृद्ध वडा बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो।

उहाँले वडाको समग्र विकास र सकारात्मक परिवर्तनका लागि सम्पूर्ण वडावासीलाई आफ्नो अभियानमा साथ र सहयोग गर्नसमेत अपिल गर्नुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x