२१ कार्तिक २०८२, बिहीबार

कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा सम्पन्न

एसीपी संवाददाता

१ कार्तिक २०८२, शुक्रबार २२:४४ मा प्रकाशित

कपिलवस्तु, असोज ३१

कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा एक विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष गङ्गेशनाथ तिवारीले गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि पूर्व वनमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले वन संरक्षण र दिगो व्यवस्थापन राज्यको मात्र नभई स्थानीय समुदायको पनि साझा जिम्मेवारी रहेको बताउनुभयो । उहाँले सामुदायिक र साझेदारी वनले रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र स्थानीय विकासमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको भन्दै यसको प्रभावकारिता बढाउन सुझाव दिनुभयो ।

शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले साझेदारी वनहरूले नागरिकलाई स्वरोजगार र आम्दानीमुखी कार्यक्रमसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले बेसार, केरा लगायतका नगदे बाली तथा वनजन्य उत्पादनसँग सम्बन्धित परियोजना सञ्चालन गर्न सके नगरपालिकाले पनि सहकार्य र साझेदारी गर्न तयार रहेको जानकारी दिनुभयो । साथै, नगरमा आएको वनसम्बन्धी बजेट कानुनी अड्चनका कारण पूर्ण रूपमा प्रयोग गर्न नसकिएको बताउँदै यस विषयमा सरोकारवालाबीच अन्तरक्रिया र नीति सुधार आवश्यक रहेको धारणा राख्नुभयो ।त्यसैगरी वडा नम्बर ३ का वडा अध्यक्ष एवम् साझेदारी वनका सदस्य टेकलाल सापकोटाले वन तथा वन्यजन्तु संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चोरी निकासी नियन्त्रण र काठको वितरणमा पारदर्शिता आवश्यक रहेको बताउँदै वन उपभोक्ता समूहहरूको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा समूहका अध्यक्ष गङ्गेशनाथ तिवारीले आगामी वर्षका कार्ययोजना प्रस्तुत गर्दै समूह जिल्ला कै दोस्रो ठूलो साझेदारी वन भए पनि हाल घाटामा रहेको जानकारी दिनुभयो । उहाँले लुम्बिनी प्रदेशमा वन मन्त्रालय रहे पनि यसको प्रभाव जनस्तरसम्म नपुगेको गुनासो गर्दै, मन्त्रालयले स्थानीय तह र साझेदारी वनसँग प्रत्यक्ष सहकार्यमा जोड दिनुपर्ने माग गर्नुभयो ।सभामा सरोकारवाला निकायका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, उपभोक्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साधारणसभाले नयाँ वर्षका लागि वन संरक्षण, आयमूलक कार्यक्रम र उपभोक्ताको क्षमता विकासमा केन्द्रित योजना अघि बढाउने निर्णय गरेको छ ।कार्यक्रमको सञ्चालन कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहका कार्यालय प्रमुख पहलमान शेरबुजा मगरले गर्नुभएको थियो

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x