सेवा नै धर्म हो’ भन्दै प्रदीप शाहद्वारा नेपालगञ्जमा खाने नि:शुल्क पानी वितरण
दिनेश ठाकुर, नेपालगञ्ज ।
‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ बाँकेको नेपालगञ्जमा निःशुल्क पिउने पानी वितरण कार्यक्रम सम्पन्न भएको छ। गौरव स्मृति तथा बियाट सेल्फ फाउन्डेसनको आयोजनामा संस्थाका संरक्षक एवं युवा समाजसेवी प्रदीप शाहको नेतृत्वमा स्थानीय सर्वसाधारण, बटुवा तथा दर्शनार्थीहरूलाई पिउने पानी वितरण गरिएको हो।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा स्थापित फाउन्डेसनले नेपालगञ्ज–६, फुलटेक्रास्थित क्षेत्रमा विशेष व्यवस्था गरी सर्वसाधारणलाई निःशुल्क स्वच्छ पिउने पानी तथा मिनरल वाटरका बोतल वितरण गरेको जनाएको छ। गर्मीका कारण तिर्खाएका तथा आवतजावत गर्ने सर्वसाधारणलाई सहजता प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा समाजसेवी शाहसहित फाउन्डेसनका प्रतिनिधि तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। पानी वितरणका क्रममा स्थानीय बासिन्दा, बटुवा तथा दर्शनार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। निःशुल्क पानी पाएपछि सर्वसाधारणले खुसी व्यक्त गर्दै फाउन्डेसनको सामाजिक सेवामूलक कार्यको प्रशंसा गरेका थिए।
कार्यक्रममा फाउन्डेसनका संरक्षक एवं युवा समाजसेवी प्रदीप शाहले सामाजिक सेवाका कार्यले समुदायमा आपसी सद्भाव, सहयोग र मानवीय भावनाको विकास गर्न सहयोग पुग्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “समाजमा रहेका नागरिकलाई आवश्यक परेको समयमा सहयोग गर्नु नै वास्तविक मानवता हो। ‘सेवा नै धर्म हो’ भन्ने भावनालाई आत्मसात् गर्दै आगामी दिनमा पनि स्थानीय समुदायको आवश्यकता र जनहितलाई प्राथमिकतामा राखेर यस्ता सामाजिक तथा परोपकारी कार्यलाई निरन्तरता दिनेछौँ।”फाउन्डेसनले आगामी दिनमा पनि स्थानीय समुदायको आवश्यकता पहिचान गर्दै जनहितकारी तथा सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनासहित सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीयस्तरमा सहयोग, सद्भाव र परोपकारको सन्देश प्रवाह गरेको आयोजकको विश्वास छ।


