खजुरा–२ मा विकास निर्माणले गति लिँदै, पूर्वाधारदेखि स्वरोजगारसम्मका योजना कार्यान्वयनमा वडा अध्यक्ष क्षेत्रीको नेतृत्वमा सडक स्तरोन्नति, कृषि, शिक्षा र सामाजिक विकासलाई प्राथमिकता
दिनेश ठाकुर, नेपालगन्ज , कात्तिक ८ — बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ मा विकास निर्माणका कामले तीव्रता पाएका छन्। वडा अध्यक्ष धनराम ओली क्षेत्रीको नेतृत्व तथा समन्वयमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकाससँग सम्बन्धित योजनाहरू कार्यान्वयन भइरहेका छन्।
वडा कार्यालयका अनुसार चालु आर्थिक वर्षमा वडाभित्रका विभिन्न टोल तथा बस्तीमा सडक स्तरोन्नति, ग्राभेल र पीसीसी निर्माणका कामलाई प्राथमिकता दिइएको छ। वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण समस्या भोग्दै आएका स्थानीय बासिन्दालाई सहज आवागमनको सुविधा उपलब्ध गराउने उद्देश्यले सडक पूर्वाधार सुधारका काम अघि बढाइएको हो।
विकास निर्माणका योजनालाई स्थानीय नागरिकको आवश्यकता र प्राथमिकताका आधारमा छनोट गरी कार्यान्वयन गरिरहेको वडा कार्यालयले जनाएको छ। योजनाको तर्जुमा तथा कार्यान्वयनमा स्थानीय बासिन्दाको सहभागितालाई समेत प्राथमिकता दिइएको छ।वडा अध्यक्ष धनराम ओली क्षेत्रीले वडाको समग्र विकास र नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनु आफ्नो प्रमुख उद्देश्य रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य वडाबासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनु हो। कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा विनियोजन गरिएको बजेटलाई पारदर्शी र जनमुखी ढंगले कार्यान्वयन गर्ने प्रयास गरिरहेका छौँ। स्थानीय नागरिकको आवश्यकता र सुझावलाई प्राथमिकतामा राखेर विकासका योजनाहरू अघि बढाइरहेका छौँ।”भौतिक पूर्वाधारसँगै कृषि क्षेत्रको विकास र रोजगारी सिर्जनालाई पनि वडाले प्राथमिकतामा राखेको छ।
चालु आर्थिक वर्षका योजनाअन्तर्गत पशुपालकलाई उधमशिलता,दाना बनाउने तालिमका साथै औजार उपलब्ध गराउने, युवा र महिलालाई स्वरोजगार बनाउन सीपमूलक तालिम सञ्चालन गर्ने कार्यक्रमहरू अघि बढाइएको जनाइएको छ।त्यसैगरी, वडालाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा स्थानीय उपभोक्ता समितिहरूको सहभागिता रहेको छ। स्थानीय तहमा नागरिकको प्रत्यक्ष सहभागितामार्फत विकासका कामलाई प्रभावकारी बनाउने प्रयास भइरहेको वडा कार्यालयको भनाइ छ।
वडामा सञ्चालन भइरहेका विकास निर्माणका काम तथा सामाजिक विकासका कार्यक्रमले स्थानीय बासिन्दामा सकारात्मक अपेक्षा जगाएको छ। स्थानीय बुद्धिजीवीहरूका अनुसार योजनाको प्रभावकारी कार्यान्वयन, पारदर्शिता र जनसहभागितालाई निरन्तरता दिन सके खजुरा गाउँपालिका वडा नम्बर २ लाई नमुना वडाका रूपमा विकास गर्न सकिने सम्भावना छ।
समग्रमा, सडक पूर्वाधार सुधारदेखि कृषि तथा पशुपालन, सीप विकास र सामाजिक क्षेत्रसम्मका योजनालाई प्रभावकारी रूपमा अघि बढाउँदै वडाको दिगो विकास र नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित वडा नम्बर २ ले आफ्ना गतिविधि अगाडि बढाइरहेको छ।


