नेपालगञ्जबाट बाढीपीडितका लागि सहयोग अभियान सुरु त्रिभुवन चोकमा युवाहरूको पहलमा राहत सामग्री संकलन
दिनेश ठाकुर नेपालगञ्ज,भदौ १३ गते — रसुवा र नुवाकोटका बाढीपीडित परिवारका लागि नेपालगञ्जमा राहत सहयोग अभियान सुरु गरिएको छ। युवाहरूको पहलमा नेपालगञ्जको त्रिभुवन चोकमा राहत सामग्री संकलन केन्द्र स्थापना गरी सहयोग जुटाउन थालिएको हो।
बाढीका कारण प्रभावित परिवारहरूलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको समाजसेवी सारिक अलिले बताएका छन्। अभियानमार्फत खाद्यान्न, लत्ताकपडा, पानीलगायत आवश्यक सामग्री संकलन गरी पीडित परिवारसम्म पुर्याउने लक्ष्य राखिएको छ।
घरमा उपलब्ध रहेको सानोभन्दा सानो सहयोग पनि विपद्मा परेका परिवारका लागि ठूलो राहत बन्न सक्ने भन्दै सबैलाई स्वेच्छिक रूपमा सहयोग गर्न आह्वान गरेका छन्।
“तपाईंको सानो सहयोग कसैका लागि ठूलो राहत बन्न सक्छ” भन्ने भावनासहित सञ्चालन गरिएको अभियानमा सहभागी भई सम्भव भएसम्म राहत सामग्री लिएर त्रिभुवन चोक, नेपालगञ्ज पुग्न सबैलाई आग्रह गरिएको छ।
अभियानमा नेपालगन्जको युवाहरूको सहभागिता तथा पहल रहेको छ। विपद्को यस कठिन घडीमा मानवीय सहयोग र सामाजिक एकताको भावना प्रदर्शन गर्दै बाढीपीडित परिवारको दुःखमा साथ दिन सबै क्षेत्रका नागरिकलाई अपिल गरेको छ।


