बाढीपीडितका लागि शकील जसगढद्वारा रु. २ लाख ११ हजार सहयोग
दिनेश ठाकुर नेपालगन्ज ,भदौ १३ गते — भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बाढीपीडितका लागि नेपालगन्जका प्रसिद्ध व्यवसायी तथा वरिष्ठ समाजसेवी शकील अहमद जसगढले रु. २ लाख ११ हजार सहयोग गर्नुभएको छ।
नेपाल ज्वेलर्सका सञ्चालकसमेत रहनुभएका जसगढले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत पठाउनुभएको हो।
शनिबार प्रमुख जिल्ला अधिकारी तामाङलाई सहयोग रकमको आईपीएस हस्तान्तरण गर्दै समाजसेवी जसगढले देश यतिबेला ठूलो पीडा र दुःखको अवस्थामा रहेको बताउनुभयो। बाढी तथा विपद्का कारण हजारौँ नेपाली दाजुभाइ तथा दिदीबहिनी प्रभावित भएकाले आफूले आफ्नो क्षमताअनुसार सहयोग गरेको उहाँले बताउनुभयो।
उहाँले विपद्को यस कठिन घडीमा पीडित परिवारलाई राहत र सहयोग पुर्याउन समुदायका अन्य व्यक्ति तथा सामाजिक संघसंस्थालाई पनि आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गर्नुभयो।
सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी हन्नान जसगढको समेत उपस्थिति रहेको थियो।
सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विपद्को यस दुःखद् घडीमा नेपालगन्जका मुस्लिम समुदायका अगुवा तथा समुदायबाट प्राप्त सहयोग अतुलनीय रहेको बताउनुभयो। उहाँले मानवीय सेवाका लागि गरिएको यस्तो सहयोगले विपद्मा परेका नागरिकलाई राहत पुर्याउन महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्नुभयो।
विपद्को समयमा मानवीय सहयोग, सामाजिक उत्तरदायित्व र सामुदायिक एकताको उदाहरण प्रस्तुत गर्दै जसगढले गरेको सहयोगप्रति स्थानीयस्तरमा सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ।


