सफीक बेहनाद्वारा रु. १ लाख ५१ हजार १ सय राहत कोषमा सहयोग
दिनेश ठाकुर नेपालगञ्ज ,भदौ १३ गते — विपत्तिको कठिन घडीमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको भावना प्रस्तुत गर्दै नेपालगञ्जका प्रतिष्ठित व्यापारी तथा युवानेता मो. सफीक बेहनाले रु. १ लाख ५१ हजार १ सय राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गर्नुभएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी बेहनाले उक्त रकम प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नुभएको हो।
विपत्तिबाट प्रभावित तथा समस्यामा परेका नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले गरिएको यस सहयोगले मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र एकताको सकारात्मक सन्देश दिएको छ।
राहत रकम सहयोग गर्दै बेहनाले विपत्तिको समयमा हरेक नागरिकले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। ठूलो रकम सहयोग गर्न नसके पनि प्रत्येक व्यक्तिले गर्ने सानो योगदानले विपत्तिमा परेका नागरिकका लागि ठूलो आशा र सहारा बन्न सक्ने उहाँको भनाइ छ।
उहाँले विपत्तिमा परेका नागरिकको पीडामा साथ दिन सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्नसमेत आग्रह गर्नुभयो।
“विपत्तिको यो कठिन घडीमा आफूले सकेको सहयोग गरौँ। ठूलो सहयोग नै गर्नुपर्छ भन्ने छैन, सानो योगदान पनि कसैका लागि ठूलो सहारा बन्न सक्छ,” बेहनाले भन्नुभयो।
मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै गरिएको बेहनाको यो सहयोगले विपत्तिको समयमा सहयोग र सहकार्यको आवश्यकता अझ उजागर गरेको छ।


