बाढीपहिरोबाट भएको क्षतिप्रति जसपा राष्ट्रिय सचिव कमरुद्दीन राईद्वारा दुःख व्यक्त
दिनेश ठाकुर नेपालगन्ज , भदौ ११ — रसुवा, स्याफ्रुबेसी, त्रिशूली, नुवाकोट, धादिङलगायतका क्षेत्रमा अप्रत्याशित रूपमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको खबरप्रति जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय सचिव कमरुद्दीन राईले गहिरो दुःख व्यक्त गरेका छन्।
राईले बाढीका कारण ठूलो मानवीय क्षति भएको हुन सक्ने समाचारले आफू अत्यन्त मर्माहत भएको बताएका छन्। वर्षायामको अन्त्यतिर प्राकृतिक विपद्ले निम्त्याएको दुःखद् घटनाले आफूहरूको मन भारी बनाएको उनको भनाइ छ।
उनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। साथै, घटनास्थल आसपास रहेका सबैलाई सम्भव भएसम्म उद्धार तथा राहत कार्यमा सहयोग गर्न हार्दिक अनुरोध गरेका छन्।
राईले यस दुःखद् घडीमा बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, बेपत्ता नागरिकहरूको सकुशल उद्धारका लागि प्रार्थना गर्दै सबैलाई संयमित र सुरक्षित रहन आग्रह गरेका छन्।
उनले विपद्को यस कठिन समयमा राज्यका निकाय, राजनीतिक दल, सामाजिक संघसंस्था तथा आम नागरिकबीच सहकार्य र एकता आवश्यक रहेको समेत बताएका छन्।


