पाकिस्तानको बलुचिस्तानमा महिला फिदाहिनले हल्लियो पुरै पाकिस्तान
पाकिस्तानको बलुचिस्तान प्रान्तमा सप्ताहन्तमा २४ घण्टासम्म चलेको समन्वित हिंसात्मक घटनाक्रमका क्रममा दुई जना महिला आत्मघाती हमलाकारी (फिदायीन) ले सरकारी कार्यालय, बैंक तथा सुरक्षा निकायलाई लक्षित गरी आक्रमण गरेको विवरण सार्वजनिक भएको छ। बलुच लिबरेसन आर्मी (बीएलए) ले असिफा मेङ्गल (२३) र हावा बलुच (२४) नामका ती दुई महिलाको तस्बिर तथा आक्रमणका दृश्य सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो।
बीएलएका अनुसार ती दुवै महिलाले आफ्नो सामान्य जीवन त्यागेर संगठनको ‘मजीद ब्रिगेड’ नामक आत्मघाती दस्ता ज्वाइन गरेका थिए। ‘हेरोफ २.०’ नाम दिइएको उक्त अभियानअन्तर्गत कलात, ग्वादर, मस्तुङ, नोश्की, खारान, तुर्बत र पास्नी क्षेत्रमा सरकारी कार्यालय, बैंक, फ्रन्टियर कोर मुख्यालय तथा अन्य सैन्य संरचनामाथि आक्रमण गरिएको थियो। संगठनको मिडिया शाखा ‘हक्कल’ ले आक्रमण र बन्धकसम्बन्धी भिडियोसमेत सार्वजनिक गरेको छ।
बीएलएले दिएको जानकारीअनुसार सन् २००२ मा नोश्कीमा जन्मिएकी असिफा मेङ्गलले २०२३ मा आफ्नो जन्मदिनकै दिन मजीद ब्रिगेडमा प्रवेश गरेकी थिइन्। उनले सन् २०२६ जनवरी ३१ मा आफ्नो जन्मथलो नोश्कीमा रहेको पाकिस्तानी गुप्तचर संस्था आईएसआईको कार्यालयलाई लक्षित गर्दै सवारीसाधनमा राखिएको विस्फोटक प्रयोग गरी आत्मघाती आक्रमण गरेको बीएलएले दाबी गरेको छ।
त्यसैगरी केच जिल्लाकी हावा बलुच एक उदाउँदो लेखिका थिइन्। उनका लागि द्वन्द्व व्यक्तिगत विषय बनेको बीएलएको भनाइ छ, किनकि उनका पिता नबी बख्श बलुच पनि बीएलएका सदस्य थिए र सन् २०२१ मा इरानको सिस्तान क्षेत्रमा मारिएका थिए। पिताको मृत्युपछि हावाले पनि मजीद ब्रिगेडमा आबद्ध भई आत्मघाती आक्रमणमा संलग्न भएको संगठनले जनाएको छ।
यस हिंसात्मक लहरमा ६० वर्षका हाताम नाज सुमलानीदेखि ७० वर्षका नाको फजल बलुचसम्मका करिब एक दर्जन व्यक्तिहरू विभिन्न स्थानमा आत्मघाती आक्रमणमा संलग्न भएको बताइएको छ। कक्षा कोठा र सामाजिक सञ्जाल छाडेर युद्धको मोर्चामा उत्रिएका यी महिलाहरूले बलुचिस्तानमा संकट अझ गहिरिँदै गएको संकेत दिएको विश्लेषकहरू बताउँछन्।
बीएलए र पाकिस्तान सरकार दुवैले ठूलो क्षति पुर्याएको दाबी गरेका छन्। बीएलएले पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु संख्या १०० भन्दा बढी भएको दाबी गरेको छ भने बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले १४५ भन्दा बढी विद्रोही मारिएको बताएका छन्। उक्त अभियानमा आत्मघाती विस्फोट, प्रहरी चौकीमाथि ग्रेनेड आक्रमण तथा सेना आवागमन रोक्न राजमार्ग कब्जा गर्ने जस्ता गतिविधि भएका थिए। सोमबारसम्म पनि छिटफुट हिंसाका घटना रिपोर्ट भए तापनि यसको तीव्रता भने केही कम भएको बताइएको छ। हिमालपत्रीका



