प्रादेशिक अस्पताल सटरमा चल्यो डोजर

रुपन्देही माघ २३ गते — व्यवसायीको विरोधको बाबजुद लुम्बिनी प्रादेशिक अस्पतालका सटर बिहीबार बिहान डोजर लगाएर हटाउन सुरु गरिएको छ । अस्पतालका नाममा केही व्यवसायीहरुले सम्झौताअनुसार नै व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने भन्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा जाहेर गरेका थिए । व्यवसायीको मुद्दाको अदालतले अन्तरकालीन खारेज गरिदिए पनि व्यवसायीले मानेका थिएनन् ।
एकाबिहानै डोजर सटर भत्काउन पुगेपछि व्यवसायीहरु तितरबितर भएका थिए। उनीहरुले सामानहरु सुरक्षित गर्न नपाएको गुनासो गरेका छन्।
लुम्बिनी प्रादेशिक अस्पताल सटर संघर्ष समितिका उपाध्यक्ष तुल्सीराम शर्माले अदालतको आदेशबारे प्रशासनलाई जानकारी गराउँदा पनि सरकारले जबर्जस्ती गरेको प्रतिक्रिया जनाएका छन्।
जिल्ला अदालत रुपन्देहीले माघ १९ गतेका दिन यस्तो आदेश गरेपछि अस्पतालले व्यवसायीलाई ४८ घण्टाभित्र सटर खाली गर्न चेतावनी दिएको थियो । अस्पतालले व्यवसायीलाई पत्र नै दिएर खाली गर्न लगाए पनि नमानेपछि डोजर लगाएर भत्काउन सुरु गरेको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । सटर भाडामा लगाएबापत अस्पताललाई वार्षिक नौ करोड आम्दानी हुँदै आएको थियो ।
यद्यपि कात्तिक १८ मा प्रदेश ५ को मन्त्रिपरिषद्को बैठकले अस्पताललाई विशिष्टकृत अस्पताल बनाउन सटरहरु बाधक भएकाले भत्काउन सामाजिक विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले यस अस्पताललाई प्रादेशिक गौरवको आयोजनामा राखी विशिस्टीकृत सेवा र पूर्वाधार विकास थालेको छ ।सभार इ कान्तिपुर
