३० भाद्र २०८३, मंगलवार

भोटेकोशी बाढीपीडितका लागि जसपा नेपालद्वारा २१ लाख रुपैयाँ सहयोग

एसीपी संवाददाता

३० भाद्र २०८३, मंगलवार १७:५६ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज — जनता समाजवादी पार्टी (जसपा) नेपालले रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री विपद् राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार पार्टीले उक्त रकम सहयोगस्वरूप नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेकमार्फत हस्तान्तरण गरेको हो।
राहत रकम हस्तान्तरण कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षता रहेको थियो। कार्यक्रममा विपद् व्यवस्थापन तथा राहत संकलन समितिका संयोजक पार्टीका केन्द्रीय सचिव तथा पूर्वमन्त्री शैलेन्द्र प्रसाद शाह, समितिका सदस्यहरू वीरेन्द्र प्रधान, रमेशबाबु श्रेष्ठ, पेशल ढकाल र भुवनेश्वर चौधरीलगायतको सहभागिता रहेको थियो।

त्यसैगरी कार्यक्रममा पार्टीका महासचिव प्रकाश अधिकारी, डा. सुरेन्द्र झा लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो।
जसपा नेपालले विपद्को कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको जनाएको छ। पार्टीले विपद् राहत संकलनजस्तो मानवीय कार्यमा सहयोग तथा हातेमालो गर्ने सम्पूर्ण सहयोगी तथा मनकारी व्यक्तिहरूप्रति धन्यवादसमेत व्यक्त गरेको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न राजनीतिक दल, संघसंस्था तथा व्यक्तिहरूले प्रभावित नागरिकका लागि राहत तथा पुनःस्थापनामा सहयोग गर्दै आएका छन्। जसपा नेपालकी केन्द्रिय कार्यकारिणी समिती सदस्य अम्बिका काफ्लेले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x