बाँकेका आठवटै पालिकामा उम्मेदवारी दिने राष्ट्रिय जनमत पार्टीको घोषणा स्थापना दिवसमा इरफान अहमद शेषले भने– ‘बाँकेबाट सुरु भएको पार्टीलाई राष्ट्रिय स्तरमा स्थापित गर्छौँ’
दिनेश ठाकुर नेपालगन्ज, मंसिर १ — राष्ट्रिय जनमत पार्टीले आगामी स्थानीय तह निर्वाचनमा बाँके जिल्लाका आठवटै पालिकामा उम्मेदवारी दिने घोषणा गरेको छ। पार्टीको पहिलो स्थापना दिवसका अवसरमा मंगलबार नेपालगन्जमा आयोजित कार्यक्रममा पार्टीका संरक्षक इरफान अहमद शेषले यस्तो घोषणा गरेका हुन्।कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक शेषले बाँकेबाट सुरु भएको राष्ट्रिय जनमत पार्टीलाई देशव्यापी संगठनका रूपमा विस्तार गरी राष्ट्रिय स्तरको राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने अभियानमा आफूहरू जुटेको बताए।
‘हामीले यो पार्टी बाँकेका लागि मात्रै स्थापना गरेका होइनौँ। यसलाई राष्ट्रिय स्तरको पार्टी बनाएर देखाउने संकल्प गरेका छौँ। त्यसैले पार्टीको नाम राष्ट्रिय जनमत पार्टी राखेका हौँ,’ उनले भने।
उनले बाँकेका नागरिकको हक, अधिकार र पहिचानका सवालमा प्रभावकारी आवाज उठाउने राजनीतिक दलको आवश्यकता महसुस गरेर पार्टी स्थापना गरिएको बताए। राज्यबाट पछाडि पारिएका, उत्पीडनमा परेका तथा अन्य राजनीतिक दलबाट उपेक्षित नागरिकको पक्षमा पार्टीले काम गर्ने उनको भनाइ थियो।विशेषगरी किसान, मजदुर, रिक्सा चालक, विपन्न तथा पहुँचविहीन नागरिकको अधिकारका लागि पार्टीले संघर्ष गर्ने शेषले बताए।
ठूला राजनीतिक दलहरूले सर्वसाधारणका समस्या समाधानमा अपेक्षित भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै उनले जनताको वास्तविक समस्या सम्बोधन गर्ने उद्देश्यले पार्टी अघि बढेको दाबी गरे।
‘किसानमाथि समस्या पर्दा, मजदुरले अधिकार नपाउँदा र गरिब नागरिक अन्यायमा पर्दा ठूला राजनीतिक दलहरू अगाडि आएनन्। त्यसैले उनीहरूको अधिकारका लागि लड्न हामीले पार्टी स्थापना गरेका हौँ,’ उनले भने।
शेषले भ्रष्टाचार र अन्यायविरुद्ध पार्टीले कुनै सम्झौता नगर्ने स्पष्ट पारे। भ्रष्टाचार गर्ने व्यक्ति जुनसुकै राजनीतिक दल वा पक्षको भए पनि त्यसको विरोध गर्ने बताउँदै उनले पार्टीको चुनाव चिह्न ‘बुलडोजर’ समेत अन्याय, भ्रष्टाचार र बेथितिविरुद्धको अभियानको प्रतीक भएको उल्लेख गरे।‘जहाँ अन्याय हुन्छ, त्यहाँ हामी बुलडोजर लिएर पुग्छौँ। भ्रष्टाचार गर्ने जोसुकै भए पनि त्यसको विपक्षमा उभिन्छौँ,’ उनले भने।
स्थापना दिवसकै अवसरमा पार्टीले बाँके जिल्लाका २३ वटै वडामा वडा इन्चार्जसमेत घोषणा गरेको छ। संगठनलाई वडा तहसम्म विस्तार र सुदृढ बनाउने उद्देश्यले वडा इन्चार्ज तोकिएको संरक्षक शेषले जानकारी दिए।
उनले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै बाँकेका आठवटै पालिकामा उम्मेदवार उठाउने र त्यसका लागि नेता तथा कार्यकर्तालाई संगठन विस्तारमा परिचालन गर्ने बताए।
पार्टीका केन्द्रीय अध्यक्ष रियाज अहमद शेषको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षक इरफान अहमद शेष प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा केन्द्रीय महासचिव राज सिंह सरदार, राष्ट्रिय उपाध्यक्ष डा. राजेन्द्र प्रसाद गुप्ता, केन्द्रीय सदस्यहरू अब्दुल गफुर खान, जोया शेष, किताबुन निशा, रामनिवास साहु र राजेश वर्मालगायतको सहभागिता थियो।त्यसैगरी राष्ट्रिय जनमत पार्टीका बाँकेका युवा नेता मोनु जसगढ, महिला नेतृ तथा केन्द्रीय सदस्यद्वय नसिमुन जहाँ शेष र किताबुन निशा दर्जीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य गफुर खाँले गरेका थिए। पार्टीको पहिलो स्थापना दिवसका अवसरमा केक काटेर खुसीयालीसमेत मनाइएको थियो।


