बाढीपीडितका लागि सांसद इस्तियाक राईले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न आग्रह
दिनेश ठाकुर नेपालगञ्ज, भदौ १३ गते — विनाशकारी बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो धनजनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिन संघीय संसद् सचिवालयलाई अनुरोध गर्नुभएको छ।
सांसद राईले संघीय संसद् सचिवालयका महासचिवलाई पत्र पठाउँदै प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरकारलाई सहयोग पुग्ने उद्देश्यले प्रतिनिधिसभा सदस्यका रूपमा प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिन आग्रह गर्नुभएको हो।
पत्रमा विनाशकारी बाढीबाट देशमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै विपद्का कारण पीडित नागरिकप्रति दुःख व्यक्त गरिएको छ। साथै, विपद्को कठिन परिस्थितिमा राज्यको राहत तथा व्यवस्थापन प्रयासमा सहयोग पु¥याउन आफ्नो पारिश्रमिक योगदान गर्ने निर्णय गरेको सांसद राईले जनाउनुभएको छ।
सांसद राईको यो कदमले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने अभियानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। पछिल्लो समय बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम बढिरहेको छ।


