बालेन र रबि किन मिल्न सकेनन्
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सहकार्यको सम्भावना कमजोर बन्दै गएको छ। शक्ति बाँडफाँट र नेतृत्वको विषयमा सहमति नजुटेपछि बालेनले आफ्नै नेतृत्वमा छुट्टै पार्टीलाई अघि बढाउने तयारी थालेका छन्।
सोमबार राति बालेन र रविबीच करिब छ घण्टा लामो वार्ता भएको थियो। प्रारम्भमा यस भेटलाई दुवै पक्षका निकटस्थहरूले ‘सुखद सुरुवात’ भनेका थिए। तर वार्तामा शक्ति बाँडफाँट, संरचनागत भूमिका र भावी नेतृत्वबारे कुरा नमिल्दा सहकार्यमा दरार आएको बालेन पक्षको दाबी छ। विशेषगरी बालेनलाई रास्वपामा साधारण सदस्य भएर आउन सुझाव दिइएको र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा स्वीकार नगरेको विषयले उनी असन्तुष्ट बनेका हुन्।
रविले चितवन पुगेर सार्वजनिक रूपमा “प्रधानमन्त्रीका विषयमा छलफलको चरणमै प्रवेश नभएको” अभिव्यक्ति दिएपछि बालेन झन् बिच्किएको बताइन्छ। बालेन निकटस्थहरूका अनुसार, “भित्र एउटा कुरा गर्ने र बाहिर अर्कै बोल्ने व्यवहारले विश्वास गर्न गाह्रो भयो।”
यसपछि बालेनले लौरो चुनाव चिह्नसहित निर्वाचन आयोगमा दर्ता भइसकेको देश विकास पार्टीलाई आफ्नै नेतृत्वमा अघि बढाउने निर्णय लिएका छन्। बुधबार उनले आफ्ना सहयोगी र विभिन्न क्षेत्रका व्यक्तिहरूसँग लामो छलफल गर्दै पार्टीको भावी रणनीतिबारे राय लिएका थिए। बालेनले स्पष्ट रूपमा “शक्ति बाँडफाँट सम्मानजनक भए मात्रै सहकार्य सम्भव हुने, नत्र आफ्नै बाटोमा अघि बढ्ने” धारणा राखेका छन्।
बालेनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणाप्रति पनि असहमति जनाएका छन्। उनका अनुसार, एक व्यक्तिलाई अत्यधिक कार्यकारी अधिकार दिनु नेपालको भू–राजनीतिक र लोकतान्त्रिक संरचनाका लागि जोखिमपूर्ण हुन सक्छ। त्यसैले संविधानको दायराभित्र रहेर सुशासन र विकासलाई प्राथमिकता दिने राजनीति आवश्यक रहेको उनको निष्कर्ष छ।
यद्यपि बालेनले रास्वपासँगको सहकार्यको ढोका पूर्ण रूपमा बन्द गरेका छैनन्। उनका निकटस्थहरूका अनुसार, “आफ्नो तयारी गरौँ, तर सबै मिल्ने वातावरण बने सहकार्य पनि हुन सक्छ।” अहिले बालेन आफ्नै पार्टीलाई मजबुत बनाउँदै समानुपातिक उम्मेदवारको सूची तयार गर्ने प्रक्रियामा छन्।
रवि–बालेन सहकार्यको चर्चा बीच बढेको यो दूरीले वैकल्पिक राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत दिएको छ। अब बालेन आफ्नै पार्टीमार्फत चुनावी मैदानमा उत्रिन्छन् वा अन्तिम समयमा सहकार्य सम्भव हुन्छ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुने देखिन्छ। हिमालपत्रीका


