रसुवा भोटेकोशी बाढीपीडितका लागि जडीबुटी व्यवसायी संघद्वारा १ लाख ५१ हजार सहयोग
दिनेश ठाकुर, नेपालगन्ज, असोज ६ — रसुवा जिल्लाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका पीडितहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल जडीबुटी व्यवसायी संघले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
नेपाल जडीबुटी व्यवसायी संघ तथा कार्यसमितिका सम्पूर्ण सदस्यहरूको तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकमार्फत जम्मा गरिएको हो।
संघका अध्यक्ष टंक प्रसाद शर्माको नेतृत्वमा गएको टोलीले मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारीसमक्ष उक्त रकम जम्मा गरिएको बैंक भौचर हस्तान्तरण गरेको हो।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले संघले आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ। विपद्को यस दुःखद् घडीमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको संघले जनाएको छ।
नेपाल जडीबुटी व्यवसायी संघले सम्पूर्ण जडीबुटी उद्योगी, व्यवसायी तथा सम्बन्धित सरोकारवालालाई आफ्नो क्षमताअनुसार सहयोग गर्न हार्दिक अपिलसमेत गरेको छ।
संघले विपद्मा परेका नागरिकको जीवनरक्षा, राहत तथा पुनर्स्थापनाका लागि सामूहिक सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ।


