महासचिवको दाबीमा रहेका पुनले चिनियाँ उपमन्त्री चेन झाओलाई किन भेट् गरे ?
१४ गते पौष २०७८ । माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्र चलिरहेको छ । विचार निर्माण र नेतृत्व चयनका लागि घम्साघम्सी पनि चलिरहेको छ । पदाधिकारीमा आकांक्षीको ठूलो लर्को माओवादीभित्र देखिन्छ ।
त्यही मेसोमा महासचिवमा दाबेदारका रूपमा देखिएका छन्, वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुसाल । सातौँ महाधिवेशनमै महासचिवको दाबी गरेका वर्षमान पुन आठौँ महाधिवेशनका दरिला दाबेदार हुन् । तर, पुनको स्वास्थ्यका कारण चीनमा उपचाररत छन् । र, आठौँ महाधिवेशनमा पुन भौतिक रूपमा उपस्थित छैनन् । तर, चर्चामा भने सबैभन्दा अगाडि छन् ।
महासचिवको दाबीमा रहेका पुनले चिनियाँ उपमन्त्री चेन झाओलाई भेटेर काठमाडौंको बन्दसत्रका लागि संकेत दिएका छन् । काठमाडौंमा पुननिकट प्रतिनिधिहरूले महासचिवका लागि दबाब बढाइरहेका बेला चिनियाँ नेतासँगको भेटवार्ताको समाचार सम्प्रेषण हुनुले पुनले पनि चीनबाट दबाब बढाएको संकेतका रूपमा बुझिएको छ । माओवादी नेताहरूले चिनियाँ नेता झाओसँगको भेटलाई अर्थपूर्ण र सांकेतिक रूपमा व्याख्या गरेका छन् ।
शिलापत्रसँगको संवादमा माओवादीका एक नेताले पुनले महासचिवको दाबी निरन्तर रहेको सन्देश सम्प्रेषित गर्न बन्दसत्रको दोस्रो दिन चिनियाँ नेतासँगको भेट सार्वजनिक गराएकाे बताए । ती नेता भन्छन्, ‘पुनले आफूले अध्यक्ष प्रचण्डसँगको परामर्शमा चिनियाँ नेतासँग भेटवार्ता गरेको समेत उल्लेख गर्नु थप रणनीतिक बन्न खोजेको देखिन्छ ।’
माओवादी स्रोतका अनुसार, पुनले आफू २०-२२ पुसमा काठमाडौं आउने सन्देश पनि पठाएका छन् । महाधिवेशनका लागि ८ पुसमै काठमाडौं ओर्लिने प्रयासमा थिए । तर, अस्पतालबाट डिस्चार्ज नपाएका कारण रोकिएका पुन महाधिवेशन सकिएलगत्तै आउने सन्देश पठाएका हुन् ।
माओवादीको महाधिवेशन १७ पुससम्म चल्ने अनुमान छ । त्यसैले पुनले माओवादीभित्र आफ्नो पक्षमा माहोल बनाउन चिनियाँ नेतालाई भेटेर जसरी सन्देश प्रवाहित गर्ने रणनीति लिएका छन्, महाधिवेशनलगत्तै काठमाडौं आउने सन्देश पठाएर अर्को दबाब दिन खोजेको माओवादीभित्र चर्चा छ । महाधिवेशनले अध्यक्ष र केन्द्रीय कमिटीबाहेक पदाधिकारी चयन नगरोस् भन्ने पुनको चाहना देखिन्छ ।
उपाध्यक्षसहितका बाँकी पदाधिकारी महाधिवेशन हलको अनुमतिमा पछि केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था गर्न सकियो भने आफू आएर थप माहोल बनाउन सकिने पुनको बुझाइ हुन सक्छ । त्यसमा पुनले वाम एकताको सन्दर्भ र एमसीसीप्रति चिनियाँ चासोको प्रसंग जोडेर पनि थप सन्देश दिन खोजेको माओवादीका नेताहरूले विश्लेषण गरिरहेका छन् ।
माओवादीभित्र संख्यात्मक रूपमा बलियो गुट वर्षमानकै देखिन्छ । पुनलाई टक्कर दिनेगरी जनार्दन शर्माले पनि गुट बनाएका छन् । नेकपाकालीन समयदेखि शर्माको प्रभाव पार्टीभित्र निरन्तर बढ्ने क्रममा छ । त्यसअर्थमा अहिले पुनसँगै महासचिवको बलियो दाबेदारमा शर्मा देखिएका हुन् ।
वरिष्ठताको हिसाबमा चाहिँ शर्माभन्दा पुन अगाडि छन् । तर, पार्टीमा गरेको योगदानको हिसाबले जिम्मेवारी पाउनुपर्ने तर्क शर्मा पक्षको छ । अहिले अर्थमन्त्री भएपछि शर्माले थप शक्ति विस्तार गरेका छन् । प्रदेश १ को अध्यक्षमा शर्माका स्वकीय सचिव हर्क नेम्वाङ विजयी हुनुलाई त्यसैको उदाहरण मानिन्छ । गुट नबनाएकी भुसाल भने शर्मा र पुनको प्रतिद्वन्द्वीताको चरम अवस्थामा मात्रै महासचिव हुन सक्ने आकलन पनि माओवादीभित्र छ ।
पछिल्लो पटक प्रचण्डले पार्टीभित्र गुट भत्काउने भनेर हरेक जनवर्गीय संगठन तथा प्रदेश र जिल्ला कमिटीका सदस्यलाई प्रशिक्षित गरेका कारण पदाधिकारीमा पनि गुट भत्काउन भुसाल महासचिव बन्न सक्ने विश्लेषण गरिन्छ ।


