३ असार २०८१, आईतवार

रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्ने पहल नहुँदा बिरामीको मृत्यु हुन थालेको छ

एसीपी संवाददाता

१२ माघ २०७६, आईतवार १०:५८ मा प्रकाशित

माघ १२, २०७६ /
हुम्ला जिल्लाका गाउँगाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्ने सरकारबाट पहल नहुँदा बिरामीको मृत्यु हुन थालेको छ ।

पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा ७ जनाको ज्यान गएको हो ।


चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षकै पाउरी शाहीको मृत्यु भएको छ ।

सबैको पुस २६ गतेयता ज्यान गएको हो । सर्केगाड–३ उनापानीमा ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ–३ रायामा ३५ वर्षीया चन्दा बुढाको मृत्यु भएको छ ।

जिल्लाका विभिन्न गाउँमा फैलिएको रुघाखोकी र ज्वरोलाई स्थानीय स्वास्थ्यकर्मीले ‘सिजनल फ्लु’ भनेका छन् । तर स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या परेको बताइएको छ ।

‘हाम्रो गाउँमा मात्रै २६ पुसपछि पाँच जनाको ज्यान गयो । ज्वरो र रुघाखोकीका बिरामीको नाकबाट पातलो पानी बग्छ, हड्डी पनि दुख्छ,’ चंखेली–६ मासिधाराका हिराबहादुर शाहीले भने, ‘गाउँमा बिरामी नभएको घर भेट्न मुस्किल छ ।’ उनका अनुसार वृद्धवृद्धा र बालबालिका बढी जोखिममा छन् । तर स्वास्थ्य संस्थामा औषधि अभाव छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गाउँमा प्रकोप फैलिएर बिरामीको ज्यान गएको छ, सम्बन्धित निकायलाई कुनै चासो छैन । चंखेली गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कालिबहादुर बुढा सुर्खेततिर झरेका छन् । उनले भने, ‘स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मी अभाव छैन ।’ स्थानीय भने स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइहरूमा रुघाखोकीको औषधिसमेत नपाएर ज्यान गुमाउनुपरेकोमा गुनासो पोख्छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x