२४ कार्तिक २०८३, सोमबार

लायन्स क्लब नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहका १८ बालबालिकालाई खाद्य सामग्री सहयोग १२ हजार रुपैयाँ बराबरको दैनिक उपभोग्य सामग्री हस्तान्तरण, बालबालिकाको संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको जोड

एसीपी संवाददाता

२४ कार्तिक २०८३, सोमबार ११:४७ मा प्रकाशित

दिनेश ठाकुर नेपालगञ्ज, २२ कात्तिक — सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै लायन्स क्लब अफ नेपालगञ्ज जीवनले खजुरा गाउँपालिका वडा नं. २ स्थित बाल संरक्षण गृहमा आश्रित बालबालिकालाई खाद्य सामग्री सहयोग गरेको छ।

क्लबले संरक्षण गृहमा रहेका १८ जना बालबालिकाका लागि करिब १२ हजार रुपैयाँ बराबरका दैनिक उपभोग्य खाद्य सामग्री हस्तान्तरण गरेको हो। बालबालिकाको पोषण तथा दैनिक आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष मोहम्मद ज्याउल हक हल्वाइले मानवीय सेवा र सामाजिक उत्तरदायित्व नै क्लबको प्रमुख उद्देश्य रहेको बताउनुभयो। उहाँले बालबालिकाको संरक्षण, उचित हेरचाह र उज्ज्वल भविष्य निर्माणका लागि समाजका सबै पक्षको सहयोग तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

“बालबालिकाको जीवनमा सानो सहयोगले पनि सकारात्मक परिवर्तन ल्याउन सक्छ। उनीहरूको संरक्षण र आवश्यकताप्रति समाजका सबैको जिम्मेवारी रहन्छ। त्यसैले क्लबले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिनेछ,”उहाँले भन्नुभयो।

त्यसैगरी क्लबका निवर्तमान अध्यक्ष तोजिन्द्र विकले बालबालिका राष्ट्रका भविष्य र समाजका अमूल्य सम्पत्ति भएकाले उनीहरूको संरक्षण, हेरचाह तथा आवश्यकतामा सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासमा सामाजिक संस्थाहरूले समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

क्लबका प्रथम उपाध्यक्ष लायन डा. प्रकाश नागले बाल संरक्षण गृहमा रहेका बालबालिकालाई खाद्य सामग्री सहयोग गर्नु केवल भौतिक सहयोग मात्र नभई उनीहरूप्रति माया, अपनत्व र सामाजिक जिम्मेवारी व्यक्त गर्नु पनि भएको बताउनुभयो।उहाँले मानवीय सेवाका यस्ता कार्यले समाजमा सहयोग, सद्भाव र सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो।

लायन्स क्लब अफ नेपालगञ्ज जीवनले लामो समयदेखि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न सहयोगात्मक गतिविधि सञ्चालन गर्दै आएको छ। क्लबले समाजका विपन्न, असहाय तथा आवश्यकतामा रहेका समुदायलाई लक्षित गरी सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष जीवन शर्मा, निवर्तमान अध्यक्ष तोजिन्द्र विक, प्रथम उपाध्यक्ष डा. प्रकाश नाग, सल्लाहकार बसन्त शर्मालगायत क्लबका अन्य पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x