२२ कार्तिक २०८३, शनिबार

नेपालगञ्जका सामुदायिक विद्यालयलाई बोर्डिङसरह बनाउने ‘बुलडोजर बाबा’को उद्घोष राष्ट्रिय जनमत पार्टीको समीक्षा बैठक सम्पन्न, २३ वटै वडामा इन्चार्ज तोकिने

एसीपी संवाददाता

२२ कार्तिक २०८३, शनिबार २३:२८ मा प्रकाशित

दिनेश ठाकुर नेपालगञ्ज, कात्तिक २१ गते — राष्ट्रिय जनमत पार्टी (बुलडोजर छाप) नेपालगञ्ज उपमहानगरपालिका कमिटीले सङ्गठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्ययोजनाका विषयमा समीक्षा बैठक सम्पन्न गरेको छ। बैठकमा पार्टीका केन्द्रीय संरक्षक इरफान अहमद शेष उर्फ ‘बुलडोजर बाबा’ले आगामी स्थानीय तह निर्वाचनमा आफूले नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्व गर्ने अवसर पाए नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी निजी (बोर्डिङ) विद्यालयसरह गुणस्तरीय बनाउने उद्घोष गर्नुभएको छ।

बैठकलाई सम्बोधन गर्दै उहाँले नगरको समग्र विकासका लागि शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो। सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले पनि निजी विद्यालयसरह गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु आफ्नो लक्ष्य रहेको उहाँको भनाइ थियो।

‘सामुदायिक विद्यालयमा पनि बोर्डिङसरह गुणस्तरीय शिक्षा दिन्छौँ’
बुलडोजर बाबाले नेपालगञ्जका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार तथा व्यवस्थापनमा सुधार गरी अभिभावकको विश्वास जित्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्व गर्ने अवसर पाएँ भने नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई स्तरोन्नति गरेर बोर्डिङ विद्यालयसरह गुणस्तरीय बनाउने मेरो प्रतिबद्धता छ। आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनुपर्छ।”

सम्बोधनका क्रममा उहाँले नेपालीहरूको महान् चाड तिहार तथा छठ पर्वको अवसरमा सम्पूर्ण नगरवासीमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको शुभकामनासमेत व्यक्त गर्नुभयो।
२३ वटै वडामा इन्चार्ज तोकिने
समीक्षा बैठकले पार्टीको सङ्गठन विस्तार, वडा तहसम्म कमिटीलाई सक्रिय बनाउने तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा विभिन्न निर्णय गरेको छ।बैठकले आगामी शनिबार उपमहानगर कमिटीको विस्तारित बैठक आयोजना गरी नेपालगञ्जका २३ वटै वडामा वडा इन्चार्ज तोक्ने निर्णय गरेको छ। वडा तहमा सङ्गठनलाई व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै पार्टीका नीति, सिद्धान्त तथा विचारलाई आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले वडा केन्द्रित अभियान सञ्चालन गरिने जनाइएको छ।

त्यसैगरी, बैठकले सङ्गठनको वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी दिनमा स्थानीय नागरिकका समस्या, आवश्यकता र जनसरोकारका सवालसँग प्रत्यक्ष जोडिएर काम गर्ने निष्कर्ष निकालेको छ।

२३ वटै वडामा इन्चार्ज तोकिएपछि पार्टीका गतिविधि थप व्यवस्थित र तीव्र हुने तथा स्थानीय तहमा सङ्गठनात्मक उपस्थिति बलियो बन्ने विश्वास पार्टीले लिएको छ।नेताहरूको सहभागिता
समीक्षा बैठकमा पार्टीका केन्द्रीय संरक्षक इरफान अहमद शेष (बुलडोजर बाबा), नगर सभापति रियाज अहमद शेष र महासचिव राजा सिंहको विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी, जिल्ला नेताहरू बेचन बानिया, अब्दुल हासिम फारूकी, सफी अहमद राई, असफाक हासमी, रमजान राई, भूषण कुमार शाह, महिला नेतृ रिया पौडेल, रामनाथ मण्डल, सियाराम कुम्हार, मंगल बडही, सुन्तली परियार, शैलेन्द्र सिजापतिलगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको युवा नेता अरुण सिंह सिखले जानकारी दिनुभयो।

बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै जनतामाझ पार्टीका एजेन्डा र विकासका प्रतिबद्धता पुर्‍याउने तथा नेपालगञ्जमा सङ्गठनलाई थप सशक्त बनाउने अभियानलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x