विपन्न परिवारका ६ बालबालिकालाई एक लाख बराबरको सहयोग, शिक्षा निरन्तरतामा जोड
राजापुर, बर्दिया — बाँके युनेस्को क्लब (BUC) ले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालित ‘सुरक्षा परियोजना’ अन्तर्गत अति विपन्न परिवारका ६ जना बालबालिकालाई करिब एक लाख रुपैयाँ बराबरको सहयोग सामग्री वितरण गरेको छ।
राजापुर नगरपालिका वडा नम्बर २, ३, ५ र ८ का आर्थिक तथा सामाजिक रूपमा कमजोर चार परिवारका बालबालिकालाई लक्षित गरी शैक्षिक सामग्री, खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको हो। आर्थिक अभावका कारण बालबालिकाको शिक्षा र दैनिक जीवनयापनमा पर्न सक्ने कठिनाइ न्यूनीकरण गर्नुका साथै उनीहरूलाई नियमित विद्यालय जान र पठनपाठनलाई निरन्तरता दिन प्रोत्साहित गर्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको आयोजकले जनाएको छ।
सहयोग सामग्री राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारूले सम्बन्धित बालबालिका तथा परिवारलाई हस्तान्तरण गर्नुभएको थियो। सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख थारूले बालबालिकालाई नियमित विद्यालय जान, लगनशीलताका साथ अध्ययन गर्न र उपलब्ध शैक्षिक अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो।उहाँले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै उनीहरूको सिकाइ निरन्तरता र शैक्षिक प्रगतिमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्री जुटाउन कठिनाइ भोगिरहेका बालबालिकालाई यस सहयोगले अध्ययनमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, खाद्यान्न तथा लत्ताकपडाको सहयोगले विपन्न परिवारको दैनिक जीवनयापनमा समेत राहत पुग्ने विश्वास गरिएको छ।हरेक बालबालिकाले शिक्षा प्राप्त गर्ने, सुरक्षित वातावरणमा हुर्कने र सम्मानजनक जीवनयापन गर्ने अवसर पाउनुपर्नेमा जोड दिँदै संस्थाले आर्थिक तथा सामाजिक कठिनाइका कारण कुनै पनि बालबालिकाको सिकाइ र विकासमा अवरोध आउन नदिन यस्तो पहल गरिएको जनाएको छ।
बालबालिकाको शिक्षा, संरक्षण तथा समग्र विकासका लागि स्थानीय सरकार, समुदाय र विकास साझेदार संस्थाबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै परियोजनाले आवश्यकतामा रहेका बालबालिकाको हितमा सहयोग र समन्वयलाई महत्त्व दिएको छ।सामग्री हस्तान्तरण कार्यक्रममा राजापुर नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरी, शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईं, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बी.के., वित्त तथा खरिद अधिकृत होमकुमार चौधरी र फिल्ड सुपरभाइजर प्रमिसा थारूलगायतको उपस्थिति रहेको थियो।


