गरिब, मजदुर र सीमान्तीकृत समुदायका समस्या समाधान गर्छु : बुलडोजर बाबा
दिनेश ठाकुर नेपालगन्ज, २८ असोज — बुलडोजर बाबाले आफू नेतृत्वमा पुगे गरिब, मजदुर, किसान तथा सीमान्तीकृत समुदायले भोग्दै आएका समस्याको समाधानका लागि प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बिहीबार नेपालगन्जमा आयोजित विशेष भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजमा पछाडि पारिएका वर्ग र समुदायको उत्थानलाई आफ्नो मुख्य प्राथमिकता बनाउने बताउनुभयो। देशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि श्रमजीवी वर्गको हकअधिकार सुनिश्चित गर्न आवश्यक रहेको उहाँको भनाइ थियो।
उहाँले गरिब, विपन्न तथा सीमान्तीकृत समुदायले भोग्दै आएका समस्या समाधान गर्न प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिनुभयो। समाजमा समान अवसर, न्याय र अधिकार सुनिश्चित गर्दै श्रमजीवी वर्गको जीवनस्तर सुधार गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो।
कार्यक्रमका सभापति रियाज अहमद शेष रहनुभएको उक्त भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा केन्द्रीय महासचिव राजा सिंह, केन्द्रीय सदस्यद्वय अब्दुल गफुर खान र राजेश बर्मालगायत नेताहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी क्रान्तिकारी युवा नेता तथा अनुशासन विभागका प्रमुख नौसाद अंसारीसहित जिल्ला नेताहरू हिफजुल रहमान खान, मो. साबिर राई, मो. सफी अहमद राई, हासिम फारूकी, रामनाथ मण्डल, भूषण शाह, हनिफ मंसुरी, सल्मान साई, अरुण सिंह, सफिक शाह र मंगल शर्मालगायत नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रमबारे जानकारी दिँदै केन्द्रीय महासचिव राजा सिंहले भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताउनुभयो।
कार्यक्रममा सहभागी नेताहरूले गरिब, मजदुर, किसान तथा सीमान्तीकृत समुदायको हकअधिकार सुनिश्चित गर्न सामूहिक रूपमा अगाडि बढ्ने प्रतिबद्धतासहित ऐक्यबद्धता जनाएका थिए।
कार्यक्रमले विपन्न तथा पछाडि पारिएका समुदायका समस्या पहिचान गरी तिनको समाधानका लागि सामूहिक पहल गर्ने विषयमा जोड दिएको आयोजक पक्षले जनाएको छ।


