विमलेन्द्र निधिले साथ छाडे पनि मधेसमा देउवाकै जग बलियो
२६ गते मङ्सिर २०७८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले विमलेन्द्र निधिले शेरबहादुर देउवाको साथ छाडे पनि कार्यकर्ता देउवासँगै रहेको बताएका छन् ।
पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता यादवले भने, ‘विमलेन्द्र दाइले साथ छाडे पनि मधेसमा देउवालाई केही घाटा भएको छैन । प्रदेश २ शेरबहादुर देउवासँगै छ । विमल दाइले देउवालाई छाड्नुभएको छ, तर मधेसका कांग्रेसी साथीहरुले देउवालाई छाडेका छैनन् ।”
यादवले देउवा र कृष्णप्रसाद सिटौला समूहबीचको भएको सहमतिको स्वागत गर्दै आगामी दिनमा देउवाको नेतृत्व अपरिहार्य रहेको बताए । उनले थपे, “महाधिवेशनको नतिजा हेर्दा देउवाले त्यसै जितिरहनुभएको छ । उहाँले सबै नेतालाई समेट्नुपर्छ र त्यही अनुसार कृष्ण सिटौलालाई समेट्नु स्वागतयोग्य कुरा हो ।”
देउवाले सभापति नजिते गठबन्धन ब्रेक हुन सक्ने उनले चेतावनी दिए । यादवले भने, “देउवाले हारे घुमिफिरी केपी ओलीको सरकार बन्ने सम्भावना हुन सक्छ । लोकतन्त्र, संघीयता र गणतन्त्र धरापमा पर्छ । वामदेव गौतमले स्थानीय चुनाव गराउँदा के भयो ? कांग्रेसका साथीहरुलाई थाहै छ । अहिलेको राष्ट्रिय आवश्यकता भनेको देउवालाई सभापति बनाउने, उहाँकै नेतृत्वमा चुनाव गराउने र कांग्रेसको एकमना सरकार बनाउने हो ।”
देउवाले कांग्रेसलाई बचाएर राखेको दाबी पनि उनले गरे । उनले भने, “यसबीचमा सबैजसो पार्टी छिन्नभिन्न भए । देउवाले नै नेपाली कांग्रेसलाई बचाएर राखेको हो । सबै निर्णय सर्वसम्मत भए । सबैलाई सहमत गराउने क्षमता उहाँमा देखियो । उहाँ परिपक्व र खारिएको नेता हो । पाँच पटक प्रधानमन्त्री भैसक्नुभयो ।”


