सरकारी स्कुलमा पढाउने बहस : प्रचण्डका नाति र शिक्षामन्त्रीका छोरी नै महंगो स्कुलमा
नेकपा माओवादी केन्द्रमा सरकारी विद्यालयमा पढाउने बहस सुरु भएको छ । अध्यक्ष प्रचण्डले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका छोराछोरी सरकारी स्कुलमा पढाउनुपर्ने प्रस्तावलाई दस्तावेजमा समेट्ने बताइसकेका छन् ।
यस्तोमा माओवादीमा अनिवार्य सरकारी स्कुलमा पढाउनुपर्ने नै नीति बनिसकेको छ । तर यो नीति कार्यान्वयन गर्नुपर्ने अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका छोराछोरी तथा नाति नातिना नै महंगो बोर्डिङ स्कुलमा पढिरहेका छन् ।
प्रचण्डले आफ्ना नातीलाई मासिक ५० हजार शुल्क लाग्ने ललितपुरको युलेन्स स्कुलमा पढाइरहेका छन् । यो स्कुलमा प्रचण्डका स्व. छोरा प्रकाश दाहाल र पूर्वमन्त्रीसमेत रहेकी बुहारी विना मगरका ६ वर्षका छोरा २ कक्षामा पढ्छन् ।
त्यसैगरी शिक्षामन्त्री देवेन्द्र पौडेलकी छोरी पनि अमेरिकामा अध्ययनरत छिन् । निजी र वैदेशिक शिक्षालाई बुर्जुवा भनेर जनयुद्धमा बहिष्कार गर्नेहरु नै अहिले त्यहीँ बुर्जुवा भनेको शिक्षा लिइरहेका छन् ।
‘संयोग ! कस्तो कस्तो ? माओवादी केन्द्रको ८ औं महाधिवेशनमा नेता तथा कार्यकर्ताका छोराछोरी सरकारी स्कूल कलेजमा पढाउनु पर्ने निष्कर्षमा सुनिँदै छ। अनि बहालवाला शिक्षामन्त्रीकी छोरी ‘बुज्रुवा शिक्षा’ लिन अमेरिका प्रस्थान गर्दै ,’ मनोज पहारीले फेसबुकमा लेखेका छन् ।
माओवादी आठौं महाधिवेशनले हालै अंगालेको नीति कसरी कार्यान्वयन होला, शीर्ष नेताको परिवारमा लागु होला कि नहोला हेर्न बाँकी नै छ ।


