१३ मंसिर २०८३, शनिबार

सिंगापुर सरकारले नेपालीलाई अवैध तरिकाले प्रहरीमा भर्ना गर्ने गरेको खुलासा

एसीपी संवाददाता

८ पुष २०७८, बिहीबार १५:०८ मा प्रकाशित

०८ गते पौष २०७८ । बेलायती–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले २ मंसिरमा सिंगापुर सरकारले आफूहरूमाथिको सेवासुविधामा भेदभाव गरेको भन्दै सरकारको ध्यानाकर्षण गरायो । गोर्खा कन्टिन्जेन्ट (सिंगापुर प्रहरी) फोर्सबाट अवकाशप्राप्त प्रहरीमाथि चरम विभेद हुने गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र नै बुझाएर ध्यानाकर्षण गराएका थिए ।

तर, योबीचमा सरकारको तर्फबाट उनीहरूकाे माग सम्बोधन हुनेबारे कुनै पहल भएको छैन । सिंगापुर प्रहरीमा कार्यरत प्रहरीलाई सन् १९९१ मा दिँदै आएको आधारभूत तलबमा अहिलेसम्म पनि कुनै परिमार्जन नभएको गुनासो उनीहरूको छ ।

त्योबाहेक अवकाशपछि पेन्सनमा समेत विभेद हुने गरेको बिगेसो सिंगापुर विभागका प्रमुख पलबहादुर घर्तीले बताए । हाल सिंगापुर प्रहरीबाट ११ सय ४२ जना नेपाली सैनिकले अवकाश पाएका छन् ।

आश्चर्यको कुरा त के छ भने सिंगापुर सरकारले नेपालीलाई अवैध तरिकाले प्रहरीमा भर्ना गर्ने गरेको छ । सिंगापुर प्रहरीमा नेपालीलाई भर्ती गर्नेबारे नेपाल सरकार र सिंगापुर सरकारबीच हालसम्म कुनै सम्झौता भएको छैन ।

सन् १८१६ मा नेपाल र बेलायतबीच भएको सुगौली सन्धिपछि नेपालीहरू बेलायती सेनामा भर्ती हुन थालेका हुन् । बेलायतसँगको सोही सन्धिका कारण नै भारतीय गोर्खा सेनामा नेपाली भर्ती हुने गरेका हुन् ।

सन् १९४७ मा भारत बेलायतको अधीनबाट स्वतन्त्र भएपछि नेपाल–भारत र बेलायत तीन देशको त्रिदेशीय सन्धिकै आधारमा भारत र बेलायती सेनामा नेपाली भर्तीको सुरुवात भएको हो । तर, सिंगापुर सरकारसँग भने हालसम्म सरकारले नेपालीलाई प्रहरीमा पठाउने कुनै सम्झौता गरेको छैन ।

कसरी भर्ती हुन्छन् सिंगापुर प्रहरीमा ?

सिंगापुरले नेपालीलाई प्रहरीमा भर्ती गर्नुपहिले भारतीय सिखहरूलाई प्रहरीमा भर्ना गर्ने गरेको थियो । भारत स्वतन्त्रपछि भने भारतले आफ्ना नागरिकलाई फिर्ता बोलायो । उनीहरूको ठाउँमा सिंगापुरले त्यही बेला बेलायतसँग गोर्खा सेनाको माग गर्‍यो ।

नेपाल र बेलायतबीचको सुगौली सन्धिकै आधारमा बेलायतले गोर्खा सेनालाई सिंगापुर पठाएको हो । जुन कानुनी रूपमै अवैध देखिन्छ । बेलायतले पहिलो पटक सन् १९४९ मा भूतपूर्व बेलायती सेनाका १४२ जनालाई सिंगापुर प्रहरीको रूपमा (सीजीएसपीएफ) को रूपमा स्थापना गरेको हो ।

सिंगापुर प्रहरीका एक पूर्वअधिकारीका अनुसार बेलायत सरकारले नेपालीलाई अवैध तरिकाले मानव तस्करी गरेको हो । ‘कानुनी रूपमा हेर्ने हो भने बेलायतले गोर्खा सेनामा भर्ती भएका युवाहरूलाई सिंगापुर पठाउनै मिल्दैन । त्यो सिधै मानव तस्करी हो, हाम्रो देश कमजोर भएर मात्रै हो । बेलायतले आफ्नो लागि भर्ती गर्ने सेना सिंगापुरलाई कसरी बेच्न मिल्छ ?,’ ती अधिकारीले भने ।

अर्को रोचक कुरा के देखिन्छ भने सिंगापुर प्रहरीमा भर्ती भएका नेपालीहरूको कमाण्डर बेलायती सेनाका हुन्छन् । तर, सिंगापुर प्रहरीमा भर्ती भएका प्रहरीको सेवा सुविधाको हकमा बेलायती सेनामा भर्ती हुने सेनाको भन्दा निक्कै विभेद छ ।

बेलायती सेना र सिंगापुर प्रहरीको भर्नासमेत एउटै मितिमा लिइने गरेको छ । बिगेसो प्रमुख घर्तीका अनुसार सिंगापुर प्रहरी दुवैतर्फबाट विभेदमा परेको देखिन्छ ।

उनी भन्छन्, ‘सिंगापुर प्रहरी भने पनि सेवा सुविधा बेलायतमाफर्त नै हुन्छ । कमाण्डरसमेत बेलायती सेनाकै हो । तर, बेलायती सेनाको सेवा सुविधाभन्दा सिंगापुर प्रहरीमा भर्ती हुनेहरूको न्यून छ । अर्को कुरा, सिंगापुर प्रहरीले बेलायतमार्फत नै सेवा सुविधा पाउने गर्छन् ।’

एकातिर सबै बेलायतकै अधीनजस्तो हुने तर, सेवासुविधा बेलायतमा भर्ती भएका सेनाको जस्तो नहुने, सिंगापुर प्रहरी दुवै देशबाट मर्कामा परेको उनको भनाइ छ ।

बेलायती सेनामा भर्ती भएका गोर्खा सेनाले आफ्नो परिवारलाई बेलायतमै बस्न पाउने व्यवस्था तथा अवकाशपछि समेत आफूले चाहेको अवस्थामा बेलायतमै बस्ने सुविधा छ ।

तर, सिंगापुर प्रहरीलाई भने अवकाशपछि त्यहाँ बस्न सरकारले दिँदैन । त्योबाहेक सिंगापुर प्रहरीमा आफू जीवित रहेसम्म मात्रै पेन्सन सुविधा छ । बेलायती सेनामा भने श्रीमान्‌को पेन्सन श्रीमती जीवित रहँदासम्म उपलब्ध हुने गरेको छ । शिलापत्र बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x