सुरक्षित यात्रा अभियान: ४० सवारी साधन चेकजाँच गर्दा ५ जनामा लागुपर्पदार्थ सेवन पुष्टि, २ जना ब्राउनसुगरसहित नियन्त्रणमा
नेपालगञ्ज, १५ असोज २०८३ — सडक दुर्घटना न्यूनीकरण गरी सुरक्षित सडक यात्रा प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा संयुक्त रूपमा सार्वजनिक सवारी चालकहरूको लागुपर्पदार्थ सेवन (ला.प.से.) परीक्षण अभियान सञ्चालन गरिएको छ।
२०८३ साल असोज १५ गते जिल्ला बाँके, नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज–भन्सार सडक खण्डमा उक्त विशेष चेकिङ कार्यक्रम गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज, बाँकेको संयुक्त आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल, नेपालगञ्जको सहकार्यमा सो अभियान सम्पन्न भएको हो।
कार्यक्रममा ४० वटा सवारी साधनका चालक तथा सहचालकहरूलाई लागुपदार्थ सेवन ड्रग टेस्ट किटमार्फत प्राविधिक टोलीद्वारा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ३ जना ई-रिक्सा चालक, १ जना मोटरसाइकल चालक र १ जना सवार गरी जम्मा ५ जनामा ला.प.से. पोजेटिभ (लागुपदार्थ सेवन गरेको) देखिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सोही चेकिङको क्रममा खानतलासी गर्दा शुद्ध तौल ३ ग्राम ५७० मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो हेरोइन पदार्थसहित २ जना पुरुषलाई समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कानुनबमोजिम कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ।
बढ्दो दुर्घटना न्यूनीकरण गर्न र सवारी चालकहरूलाई सचेत गराउन यस्ता किसिमका लागुऔषध तथा ला.प.से. परीक्षण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने सुरक्षा निकायले जनाएको छ।


