१२ भाद्र २०८३, शुक्रबार

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

एसीपी संवाददाता

२५ पुष २०८२, शुक्रबार १८:४९ मा प्रकाशित

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा अध्यक्ष विनय यादवद्वारा ‘संघीय हिन्दू गणतन्त्र’ निर्माणको स्पष्ट खाका प्रस्तुत हिन्दू राष्ट्र निर्माण, राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पुनर्जागरणको मूल नारासहित राष्ट्रिय एकता दलको औपचारिक घोषणा सभा आज काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ।

विनय यादवको अध्यक्षतामा गठित उक्त दलको घोषणा सभामा दलका नेता डा. श्याम नारायण लाभले दलको औपचारिक घोषणा पत्र तथा प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको थियो।घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष विनय यादवले नेपाल केवल भौगोलिक सीमाभित्र सीमित राष्ट्र नभई हजारौँ वर्ष पुरानो सनातन हिन्दू–बौद्ध सभ्यताबाट निर्मित जीवित राष्ट्र भएको स्पष्ट पार्नुभयो।

“ऋषिमुनिहरूको तपस्या, वीर पूर्वजहरूको बलिदान र विविध संस्कृतिको जगमा उभिएको नेपाल आज सांस्कृतिक अतिक्रमण, वैचारिक भ्रम र राष्ट्रिय आत्मविश्वासको संकटबाट गुज्रिरहेको छ,” उहाँले भन्नुभयो।

अध्यक्ष यादवले राष्ट्रिय एकता दलको मूल सिद्धान्त ‘संघीय हिन्दू गणतन्त्र’ भएको घोषणा गर्दै शासन प्रणाली पूर्ण लोकतान्त्रिक, समावेशी र जनउत्तरदायी हुने तर राष्ट्रको पहिचान वैदिक सनातन धर्म सापेक्ष रहने स्पष्ट गर्नुभयो।
“हिन्दू राष्ट्र भनेको कसैलाई बहिष्कार गर्ने अवधारणा होइन, यो त सबै धर्म, जाति र समुदायलाई समेट्ने साझा सभ्यताको पहिचान हो,” उहाँले जोड दिनुभयो।

उहाँले दलको वैचारिक आधार ‘सांस्कृतिक राष्ट्रवाद’ र ‘एकात्म मानववाद’ रहेको उल्लेख गर्दै राष्ट्र, समाज, व्यक्ति र प्रकृतिलाई एउटै सूत्रमा बाँधेर विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“जरा काटिएको रुखमा जति पानी हाले पनि फल्दैन। त्यसैले हामी विकाससँगै संस्कृतिको रक्षा गर्न आएका हौँ,” अध्यक्ष यादवले भन्नुभयो।

अध्यक्षीय भाषणमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शक्तिशाली लोकपाल, ई–गभर्नेन्स, नैतिक र प्राविधिक शिक्षा, एकीकृत स्वास्थ्य प्रणाली, कृषिमा बजार ग्यारेन्टी, स्वदेशी उद्योग, जलविद्युत् विकास, रोजगारी सिर्जना र डिजिटल प्रविधिको प्रयोगमार्फत समृद्ध नेपाल निर्माण गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको थियो।

सभामा शुभकामना मन्तव्य राख्दै नेपाली संस्कृति परिषदका हर्क स्वार, मानव महाशक्तिका संरक्षक विनोद गुरुङ, विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, दलका केन्द्रीय सदस्यहरू तोयनाथ दाहाल, राकेश यादव, जितेन्द्र दास लगायतले राष्ट्रिय एकता दलको स्थापना राष्ट्रको आवश्यकता भएको बताएका थिए।

वक्ताहरूले दलले हिन्दू सभ्यता, राष्ट्रिय एकता, सामाजिक न्याय र स्वाभिमानी परराष्ट्र नीतिको पक्षमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे। घोषणा सभामा देशका विभिन्न भागबाट आएका समर्थक, बुद्धिजीवी, समाजसेवी तथा हिन्दू अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

राष्ट्रिय एकता दलले “यसपटकको भोट — स्वाभिमान र समृद्धिलाई, यसपटकको छाप — तुलसीको मोठलाई” भन्ने नारासहित आगामी दिनमा संगठन विस्तार र जनआन्दोलनलाई तीव्र बनाउने जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x