इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै १७–१७ वर्षको जेल
हिमालपत्रीका – पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै १७–१७ वर्षको जेल सजाय सुनाएको छ।
डन पत्रिकाले अदालतको आदेशको प्रतिलिपि उद्धृत गर्दै जनाएअनुसार दुवैलाई एक करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकिएको छ। कानुनअनुसार उक्त जरिवाना तिर्न असफल भएमा थप जेल सजाय भोग्नुपर्ने प्रावधान रहेको छ।
शनिबार रावलपिन्डीको अडियाला जेलभित्रै भएको सुनुवाइका क्रममा एफआईएको विशेष अदालतका केन्द्रीय न्यायाधीश शाहरुख अर्जुमन्दले फैसला सुनाएका हुन्। सुरक्षाका कारण अदालतको कारबाही जेल परिसरमै सञ्चालन गरिएको थियो।
अदालतले इमरान खानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ (साझा इरादा) र धारा ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत १० वर्षको सश्रम कारावास र भ्रष्टाचार निवारण ऐनको धारा ५ (२) अन्तर्गत ७ वर्षको सश्रम कारावास सुनाएको छ। उनकी पत्नी बुशरा बीबीलाई पनि सोही कानुनी प्रावधानअन्तर्गत कुल १७ वर्षको जेल सजाय तोकिएको छ।
यस मुद्दामा अभियोजन पक्षले प्रधानमन्त्री रहँदा इमरान खानले सरकारी अधिकारको दुरुपयोग गर्दै तोशाखाना (राज्य उपहार) सम्बन्धी सम्पत्तिमा गैरकानुनी लाभ लिएको आरोप लगाएको थियो। अदालतले अभियोजनका प्रमाण र तर्कहरूलाई स्वीकार गर्दै दुवैलाई दोषी ठहर गरेको जनाएको छ।
यद्यपि, इमरान खान र बुशरा बीबीले सबै आरोप अस्वीकार गर्दै आएका छन्। उनीहरूले यस मुद्दालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेका छन्। गत अक्टोबरमा अदालतमा बयान दिँदै इमरान खानले आफूले नीति अनुसार नै प्रक्रिया पूरा गरेको, प्रधानमन्त्री कार्यालयमार्फत मूल्याङ्कन गरी राष्ट्रिय कोषमा भुक्तानी गरेपछि मात्रै सम्पत्ति राखिएको दाबी गरेका थिए।
यो फैसलापछि पाकिस्तानको राजनीतिमा पुनः ठूलो तरंग आएको छ। पिटिआई समर्थकहरूले यसलाई न्यायिक दुरुपयोग र राजनीतिक बदला भनेका छन् भने सरकार पक्षले अदालतको निर्णयलाई कानुनी प्रक्रिया अनुसारको भन्दै स्वागत गरेको छ।
इमरान खान यसअघि पनि विभिन्न मुद्दामा जेलमा रहेका छन्। पछिल्लो फैसलाले उनको राजनीतिक भविष्य थप अनिश्चित बनाएको विश्लेषकहरू बताउँछन्।


