२२ श्रावण २०८३, शुक्रबार

एक अर्ब ९० करोड नोक्सानीपछि पाँच चिनियाँ जहाज लिलाममा बेच्न खुल्यो टेन्डर

एसीपी संवाददाता

५ पुष २०८०, बिहीबार २१:१० मा प्रकाशित

प्राविधिक रुपले मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या भएपछि ग्राउन्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज बेच्न टेन्डर आह्वान गरिएको हो।

आज प्रकाशित टेन्डर आह्वानमा दुई एमए–६० र तीन वाई १२ ई जहाज अहिले जे जस्तो अवस्थामा छन् त्यही अवस्थामा खरिद गर्न फरवरी ४ सम्ममा नेपाल एयरलाइन्स कर्पोरेसनको काठमाडौं कान्तिपथस्थित कार्यालयमा सिल्ड टेन्डर कागजात बुझाउन भनिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट ल्याइएका जहाजहरु हाल ग्राउन्डेड अवस्थामा रहेका छन्। तत्कालीन सरकारले निगमको लागि दुर्गम क्षेत्र र क्षेत्रीय विमानस्थलहरुमा उड्ने ६ जहाज चीनबाट भित्र्याउने भनी वि.सं. २०६९ मंसिर १० गते निर्णय गरेको थियो।

सोहीअनुसार पहिलो खेपमा एक एमए–६० नेपाल ल्याइएको थियो भने त्यसको करिब सात महिनापछि २०७१ कात्तिक १८ गते वाई १२ ई जहाज नेपाली भूमिमा अवतरण गरेको थियो।

त्यसपछि तेस्रो खेपमा दुई वर्ष नौ महिनापछि अर्को एमए–६० जहाज हस्तान्तरण भएको थियो। त्यसैगरी, अन्तिम खेपमा २०७४ फागुन १३ मा तीनवटा वाई १२ ई जहाज हस्तान्तरण गरिएको थियो।

ती ६ जहाजमध्ये एउटा २०७६ चैत १५ गते नेपालगञ्ज विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त भयो भने बाँकी जहाजहरु मर्मत कुरिरहेका छन्।

ती ६ जहाजमध्ये दुई जहाज (एक एमए–६० र एक वाई १२ ई) अनुदानमा प्राप्त भएको हो। यसरी पहिलो र दोस्रो खेपमा आएका जहाज अनुदानका हुन्। तेस्रो र चौथो खेपमा आएका चार जहाज चिनियाँ बैंकबाट सहुलियत ब्याजदर (१.५ प्रतिशत) मा ऋण प्राप्त गरी ३ अर्ब २ करोड ४ लाखमा खरिद गरिएको हो।

निगमले २० वर्षभित्र यो ऋणको सावाँ र ब्याज भुक्तान गरिसक्नुपर्ने सम्झौता गरिएको छ।

चिनियाँ जहाज खरिद प्रकरणमा भएका चार गल्ती
कहिले पार्टपुर्जा र कहिले चालकको भाषा समस्याले लामो समयसम्म भूमिस्थ हुनुपर्ने समस्या यी जहाजमा देखिँदै आएको छ। पटक–पटक जहाज भूमिस्थ हुँदा, महँगो चालक दल तालिम खर्च, पार्टपुर्जा र बिमा शुल्क अधिक हुँदा निगमलाई आर्थिक रुपले बोझ हुँदै आएको थियो।

सुशील घिमिरे निगम सुधार सुझाव कार्यदलअनुसार आर्थिक वर्ष ०७३ र ०७४ मा मात्र चिनियाँ जहाज सञ्चालन नोक्सानी ९१ करोडभन्दा धेरै भयो। निगमका अनुसार अहिले चिनियाँ जहाज सञ्चालन नोक्सानी करिब एक अर्ब ९० करोड ६९ लाखभन्दा बढी हुनपुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x