१३ मंसिर २०८३, शनिबार

एमसीसी विरुद्ध चीनको दबाव , संसदबाट पास नगराउन चर्को लविङ

एसीपी संवाददाता

१० पुष २०७८, शनिबार २२:३८ मा प्रकाशित

चिनियाँ अधिकारीहरुले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट संसदबाट पास नगराउन चर्को लविङ गर्न थालेका छन् । नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गरेर सो लविङ गरेका हुन् । चिनियाँ राजदूत र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले टेलिफोन मार्फत र भेटघाट गरी लविङ गर्न थालेको स्रोतले जनाएको छ ।
यस सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष, पुष्पकमल दाहाल, ‘प्रचण्ड’, नेकपा एस पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता बाबुराम भट्टराईलाई भेटेर एमसीसी संसदमा पेश नगर्न दबाब दिएका थिए । त्यसैगरी नेपाली कांग्रेसका नेताहरुलाई पनि चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले भेटेर त्यसबारे अवगत गराएका थिए ।
अहिले भने उनीहरुले प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरुसँग भेटघाट गर्ने, टेलिफोन सम्पर्क गर्ने र भिडियो कल गरी एमसीसी पास नगर्न दबाब दिएका हुन् । सोमबार मात्रै एमाले अध्यक्ष केपी ओली र चिनियाँ राजदूत हाउ यान्छीबीच भेटघाट भएको थियो । गठबन्धन सरकारले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट संसदमा टेबुल गर्ने चर्चा गरिरहेका बेला राजदूत यान्छीले डेढ घण्टा लामो भेटघाट भएको स्रोतले जनाएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै सरकार अविछिन्न उत्तराधिकारी हुने भएकाले अघिल्लो सरकारको कामकारवाहीलाई निरन्तरता दिन आफ्नो दायित्व बताउँदै आएका थिए । ओलीको सो भनाई र यो सन्दर्भ अहिलेको अवस्थामा लागु नहुने भएपनि एमसीसीबारे एमालेले कुनै पनि निर्णय गरेको छैन । एमालेभित्र एमसीसीबारे दुई धार रहेको बेला माओवादीभत्र पनि पास गर्न हुने र नहुने गरी दुई धार निर्माण भैसकेको छ ।
यस्तो बेलामा राजदूत यान्छीले ओलीसँग डेढ घण्टा कुराकानी गर्नुले एमसीसीलाई पछि धकेल्ने उदेश्य रहेको अनुमान गरिएको छ । राजदूत होउले ओली निवास बालकोट पुगेर सोमबार दिउँसो अध्यक्ष ओलीसँग एक्लै डेढ घण्टा लामो संवाद गरेकी थिएन । यसअघि एमाले महासचिव शंकर पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टीका नेताले कुराकानी गरेका थिए ।
महासचिवसँग गरिएको भिडियो संवादमा एमसीसीलाई पछि धकेल्न आग्रह गरेका थिए । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले चिनियाँ राजदूतले अध्यक्ष ओलीबीच भेटघाट भएको बताएका छन् । ‘अध्यक्ष कमरेडसँग राजदूत यान्छीले भेटघाट गरेकी छिन्, समसामयिक विषयमा कुराकानी भएको छ’, उनले भने । एमालेको दशौ महाधिवेशनपछि चिनियाँ राजदूतको यो पहिलो भेटघाट हो । सरकारमा रहँदा ओलीसँग राजदूत यान्छीले धेरै पटक भेटघाट गर्ने इच्छा व्यक्त गरेकी थिइन तर नेकपा विभाजन, एमाले विभाजन जस्ता घट्ना क्रमले गर्दा ओलीले राजदूत यान्छीसँग भेटघाट गर्न राजी भएका थिएनन । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने एक कार्यक्रममा मात्रै ओली र राजदूत यान्छीको भेटघाट भएको थियो । त्यसबेलादेखि ओली र चिनियाँ अधिकारीहरुबीच एक प्रकारको मनमुटाव रहेको थियो । तर अहिले सम्बन्ध सुधार गर्ने क्रम बढेको छ ।
अहिले भने बधाई दिन आएकी यान्छीले एमसीसीबारे चासो राखेकी थिइन । उनले चीन सरकारको सन्देश भन्दै तत्काल एमसीसीबारे पुर्नविचार गर्न आग्रह गरेकी थिइन । सत्ता गठबन्धनमै सहमति नभएपछि एमसीसी अनुमोदनको बिषय संसदको कार्यसूचीमा अहिलेसम्म परेको छैन । प्रमुख प्रतिपक्षी एमालेले आफू एमसीसी संसदमा पेश भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै आएको छ ।
एमालेका उपाध्यक्ष भीम रावल एमसीसी अनुमोदनका पक्षमा छैनन भने, अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमसीसी पास गर्नुपर्ने विषयमा धारणा राखेका छन् । उता एमाले सचेत विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी अनुमोदनको पक्षमा नरहेको स्पस्ट पारिसकेका छन् । उनले एमसीसीबारे सत्तारुढ दल नबोलेसम्म एमालेले आफ्नो धारणा नबनाउने बताएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिअन्तर्गतको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री चेन चाओले एमाले महासचिव पोखरेलसँग पनि कुराकानी गर्दै यस्तो आग्रह गरेका थिए । उपमन्त्री चेनले पोखरेललाई महासचिवको पदभार ग्रहण गरेपछि बधाई दिनेक्रममा दुई पार्टीबीच अन्तरसम्बन्धित विचारलाई अझ बढी बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै एमसिसीमा पुनर्विचार गर्न आग्रह गरेका थिए ।
ओली प्रधानमन्त्री भएका बेला तत्कालिन सभामुख कृष्णबहादुर महराले एमसीसी संसदमा पेस गर्नबाट रोकेका थिए । सभामुख महराले नै संसदमा एमसीसी पेस गर्न असहयोग गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीले आलोचना गरेका थिए । हालका सभामुख अग्निप्रसाद सापकोटाले पनि सदनमा एमसीसी पेस गर्न नसकिने बताउँदै आएका छन् । पाँचदलीय गठबन्धनबाट बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागीमध्ये माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसीसी संशोधन नगरी पास गर्न नहुने अडानमा छन् ।
त्यसकै लागि तीन सदस्यीय कार्यदल समेत बनाएका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा कानुनमन्त्री ज्ञानेन्द्र कार्की र नारायणकाजी श्रेष्ठ सदस्य रहेका छन् । अमेरिकामा एमसीसीको कार्यकारी बोर्डको बैठककै दिन पारेर मंसिर २८ गते नेपालमा संसद बैठक डाकिएको भएपनि सत्ता गठबन्धनका दलहरुबीच सहमति हुननसक्दा अहिलेसम्म प्रस्ताव संसदमा पेश हुन सकेको छैन । एमालेको अवरोधले संसद चल्न सकेको छैन । मंसिर ६ गते पनि संसद बैठक बस्यो तर बैठकमा एमाले सांसदले अवरोध गरेका कारण एमसीसी संसदको कार्यसूचीमै परेको थिएन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x