एमालेमा नयाँ नेतृत्व को खाचो
रुपनी जिएम -नेपालगन्ज
३५ वर्षका बालेन शाह प्रधानमन्त्री बन्ने उम्मेदवार हुन सक्छन् भने, उनीभन्दा कान्छा सुहाङ नेम्वाङले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)को नेतृत्व सम्हाल्न किन नसक्ने ? यही प्रश्न आज गम्भीर रूपमा उठ्न थालेको छ ।
अबको एमालेभित्र “कुनै पद” वा “उचित स्थान” जस्ता शब्दले मात्रै पुग्ने अवस्था छैन । यदि पार्टीलाई भविष्यतर्फ लैजान चाहिन्छ भने सिधै सुहाङ नेम्वाङलाई पार्टी अध्यक्षका रूपमा अघि सार्ने प्रस्ताव उठ्नुपर्छ भन्ने मेरो स्पष्ट धारणा हो ।
यो निर्वाचनका क्रममा घरदैलोमा जाँदा धेरै उम्मेदवारहरूले एउटा साझा अनुभव सुनाए । मतदाताले भन्नुभयो, “तपाईं मान्छे राम्रो हो, तर यदि तपाईंले केपी शर्मा ओलीको नाम लिएर भोट माग्नुभयो भने हामी भोट दिन सक्दैनौँ ।” यो कुरा सुन्न सहज नलागे पनि यथार्थलाई नकारेर राजनीति चल्दैन ।
अध्यक्ष ओलीको धेरै योगदान छ, पार्टीलाई स्थापित गर्न उहाँले ठूलो भूमिका खेल्नुभएको छ । तर पछिल्लो समय उहाँकै तीखो बोली र कठोर शैलीका कारण एमालेभित्र उदाउँदै गरेका धेरै युवाहरूको सम्भावना समेत ओझेलमा पर्ने अवस्था बनेको देखिन्छ ।
समय बदलिएको छ । प्रविधि बदलिएको छ । समाजको सोच बदलिएको छ । अब केवल विगतको योगदानलाई सम्मान गरेर मात्रै राजनीति अगाडि बढ्ने अवस्था छैन । आजको आवश्यकता भनेको समाजको नयाँ सोच बुझ्ने, युवाको आकांक्षा सुन्ने र समयसँगै हिँड्न सक्ने नेतृत्व हो । त्यस अर्थमा सुहाङ नेम्वाङ जस्ता युवालाई नेतृत्वमा ल्याउने विषय गम्भीर बहसको विषय बन्नुपर्छ भन्ने लाग्छ ।
यदि एमालेले पुरानै साखमा फर्कन चाहन्छ, पार्टी छाडेर बाहिरिन बाध्य भएका नेता–कार्यकर्तालाई फेरि जोड्न चाहन्छ भने नेतृत्वमा पुस्तान्तरणबारे सोच्नैपर्छ । यो कुरा पार्टी अध्यक्ष मात्र होइन, उहाँको वरिपरि बसेर पार्टीको दिशा निर्धारण गर्ने सबैले बुझ्न जरुरी छ ।
नत्र आज एमालेको टिकट लिएर जित्नुभएका धेरै नेताहरूको राजनीतिक भविष्यसमेत जोखिममा पर्न सक्छ । त्यसैले नेतृत्व परिवर्तनको विषयलाई नकार्ने होइन, पार्टीभित्रैबाट सकारात्मक बहस र आवश्यक परे सकारात्मक विद्रोह पनि सुरु हुनुपर्छ भन्ने लाग्छ ।
सुहाङको नेतृत्व आजको आवश्यकता हो कि होइन ? कम्तीमा यसबारे खुला बहस त सुरु गरौँ । यो मेरो विचार हो । तपाईंको विचार तपाईंले स्वतन्त्र रूपमा राख्न सक्नुहुन्छ ।


