नेपालको बाढी प्रभावित क्षेत्रका लागि भारतबाट १० टन मानवीय सहायता र अत्यावश्यक औषधिहरू उपलब्ध
काठमाडौं — हालै नेपालमा गएको विनाशकारी बाढी तथा पहिरोका कारण उत्पन्न संकटसँग जुध्न र उद्धार कार्यलाई सघाउ पुर्याउन भारतले ठूलो सहयोग पठाएको छ। नेपालको राहत तथा उद्धार प्रयासलाई प्रत्यक्ष रूपमा सहयोग गर्न भारत सरकारले १० टन मानवीय सहायता तथा आपत्कालीन राहत सामग्री (HADR) र जीवन बचाउने अत्यावश्यक औषधिहरू पठाएको हो।
यस प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना प्रकट गर्दै भारत सरकारले कठिन परिस्थितिमा सधैंझैं यसपटक पनि नेपाल र यहाँका जनताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै भारतले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै भनेको छ, “हाम्रो समवेदना शोकमा डुबेका परिवारहरू र यस विपद्बाट प्रभावित हुनुभएका सम्पूर्ण नागरिकहरूप्रति रहेको छ। यस ठूलो चुनौतीको घडीमा भारत नेपाल र यहाँका जनताको साथमा दृढतापूर्वक उभिएको छ।”
नेपालमा आएको यस अचानकको बाढीका कारण ठूलो धनजनको क्षति भएको छ र प्रभावित क्षेत्रहरूमा उद्धार कार्य तिब्र पारिएको छ। भारतबाट आएको यस आपत्कालीन राहत सामग्रीले प्रभावित क्षेत्रका नागरिकहरूलाई औषधिउपचार र राहत वितरण गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।


