कंचनपुरमा काँग्रेसको ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस
,कञ्चनपुर,१६ पुस । कञ्चनपुरको बेलौरीमा नेपाली काँग्रेसले ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेश ख को आयोजनामा शुक्रबार बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरि ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा बिचार गोष्ठीको आयोजना गरि मनाएको हो । देशमा लोकतान्त्रिक राज्य ब्यबस्था स्थापनाका लागि राष्ट्रिय शक्ति बीच एकता र मेलमिलाप गर्दै निरंकुश पंचायती राज अन्त्य गर्न जननायक बिपी कोइराला स्वदेश फर्केर आन्दोलनको सुरुआत गरेको दिनको स्मरण गर्दै नेपाली काँग्रेसले पुस १६ लाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउदै आएको छ । नेपाली काँग्रेस प्रदेश ख का सभापति चेतन राईको सभापतित्वमा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा पुर्व संबिधान सभा सदस्य दिवानसिंह बिष्ट प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा नेकपा एमाले,नेकपा माओवादी,राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरुका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

यस्तै शुक्रबार कञ्चनपुरको बेलौरी नगरपालिका स्थित महाकाली बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी सघं एकाई समिति गठन गरिएको छ । नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेश ख को आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा पुर्व संबिधान सभा सदस्य दिवान सिंह बिष्टले नव गठित कार्य समितिका पदाधिकारीलाई टिका लगाएर बधाई समेत दिनुभएको छ ।

पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस । नेपाली कांग्रेसका संस्थापक एवं नेपाली कांग्रेसको सिद्धान्त प्रजातान्त्रिक समाजवादका प्रतिपादक वीपी कोइराला सहितका नेताहरू आठ वर्ष निर्वासित जीवन बिताएर २०३३ पुस १६ गते स्वदेश फर्केको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ । प्रवासमा बसेर मुलुकमा प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन गर्नु भन्दा स्वदेशमै बसेर राष्ट्रिय शक्तिहरुका बिच एकता र सहकार्य गर्दै प्रजातन्त्र पुनःस्थापना सहज र मुलुकको राष्ट्रियताको रक्षा हुने भन्दै जननायक बिपी कोइरालाले आफुलाई निरंकुश शासकको जोखिम मोलेर आन्दोलनमा होमिन स्वदेश फर्किएको दिनको स्मरणमा काँग्रेसले देश भर कार्यक्रमको आयोजन गर्दै आएको छ । नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेश ख को आयोजनामा शुक्रवार गरिएको कार्यक्रममा क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेश ख का सचिव दिनेश कुवरले गर्नुभएको थियो ।


