कम्युनिस्टहरुमा माओवाद हो कि नातावाद , गोजिबाट जन्मिएका पार्टी केन्द्रिय सदस्य
महाधिवेशन प्रतिनिधिलाई भूमिकाहीन बनाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बगलीबाट २ सय ३६ जना केन्द्रीय सदस्यको सूची निकाले ।
परिवारवादको चर्को आलोचना गर्दै महाधिवेशनमा प्रतिवेदन पेस गरेका प्रचण्डले बगलीबाट निकालेको केन्द्रीय सदस्यको सूचीमा भने आफ्नो परिवारका तीन जना सदस्यको नाम राखे । प्रचडले पेस गरेर पारित समेत भइसकेको केन्द्रीय सदस्यको सूचीमा उनीसहित उनका परिवारका चार जना छन् । ३५ वर्षदेखि माओवादी पार्टीको नेतृत्वमा रजाइँ गरिरहेका प्रचण्डले यसपटक आफूले आफूलाई केन्द्रीय सदस्य बनाए ।
‘महाधिवेशन कस्तो हुन्छ हामी देखाउँछौँ’ भन्दै नेकपा एमाले अध्यक्ष ओलीलाई चुनौती दिएका प्रचण्डले ओलीकै शैली पछ्याउँदै बगलीबाट केन्द्रीय सदस्यको सूची बन्दसत्रमा पढेर सुनाए । प्रचण्डले भाइ नारायण दाहाल, छोरी रेनु दाहाल र बुहारी विना मगर (दाहाल) लाई केन्द्रीय सदस्य बनाइछाडे ।
सैद्धान्तिक रूपमै सही वंशवाद र परिवारवादको विरोध गर्ने प्रचण्डले परिवारपथप्रतिको आफ्नो मोह ०७४ को स्थानीय तहको निर्वाचनमा देखाएका थिए । ०७४ वैशाखमा भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादीको साझा उम्मेदवार थिइन् प्रचण्डपुत्री रेनु ।
रेनुलाई भरतपुरको मेयरमा जिताउन मतपत्र च्यात्ने र दोहोर्याएर चुनाव गराउनेसम्म ‘हतकण्डा’ गरेर प्रचण्डले छोरीलाई मेयर बनाइछाडे । मतपत्र च्यातेको कसुरमा दुई जना माओवादी कार्यकर्तालाई जिल्ला अदालत चितवनले दोषी ठहर गरी जनही एक-एक लाख रुपैयाँ जरिवाना सुनायो । तर, परिवारपथका सामुन्ने घुँडा टेकेका प्रचण्डले कानुनी प्रक्रिया मात्र होइन, लोकलाज समेत सहजै पचाए ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रचण्डको बुहारी भएकै नाताले खानेपानी मन्त्रीको पद हात पारिन् विना मगरले । मगर यसपछि पनि निरन्तर प्रचण्डको परिवारपथको यात्रामा सामेल भइरहिन् ।
०७६ साउनमा प्रचण्डले पार्टीको खानेपानी तथा सरसफाइ विभाग प्रमुखबाट देवेन्द्र पौडेलको नाम मेट्दै बुहारी मगरको नाम लेखे । माओवादीभित्र सर्वेसर्वा बनेका प्रचण्डले आफ्ना छोराछोरीलाई स्वकीय सचिव बनाउनेदेखि भाइलाई प्रदेश अध्यक्ष र ज्वाइँलाई सरकारी नियुक्ति दिलाउनेसम्मको परिवारपथ अभ्यास गर्दै आएका छन् ।
०६५ सालमा पहिलो पटक प्रधानमन्त्री बनेसँगै परिवारपथमा लम्किएका प्रचण्डको परिवारपथ झन्-झन् झांगिँदो छ । प्रचण्डको परिवारपथको हाँगाबिंगा झन् फराकिलो हुँदै गइरहेका छन् । ०६५ यता प्रचण्डको परिवारपथको जरा गहिरिँदै गइरहेको छ ।
पहिलो पटक प्रधानमन्त्री हुँदा छोरा प्रकाश दाहाललाई सचिवालयमा नियुक्त गरेको भन्दै पार्टीभित्र प्रचण्डको आलोचना भएको थियो । तर, परिवार मोहमा लिप्त प्रचण्डले आलोचना सुनेन् ।
दोस्रो पटक प्रधानमन्त्री नियुक्त हुँदा पनि उनले परिवार र नातागोतालाई सरकारी नियुक्ति दिलाउन छाडेनन् । दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले भतिजा समिर दाहाललाई सचिवालयमा नियुक्ति दिलाए । छोरा प्रकाशलाई प्रधानमन्त्रीको सचिवालयमा राख्दै परिवारवाद विस्तार गरे ।
०७५ सम्म आइपुग्दा प्रचण्डले छोरी, ज्वाइँ, बुहारी गरी झण्डै आठ जनालाई उच्च सरकारी पदमा पुर्याए । भाइ नारायण दाहाललाई तत्कालीन नेकपाको बागमती प्रदेश अध्यक्ष नै बनाए । चुनावका समयमा टिकट बाँड्दा पनि प्रचण्डको पहिलो प्राथमिकतामा उनकै परिवारका सदस्य पर्छन् । पार्टीका अन्य प्रतिस्पर्धीलाई पन्छाउँदै प्रचण्डले बुहारी मगरलाई कञ्चनपुर क्षेत्र नम्बर १ को टिकट दिए ।
ज्वाइँ जीवन आचार्यलाई मोरङ क्षेत्र नम्बर ६ (क) को टिकट दिए । बुहारी मगरले चुनाव जितिन् भने ज्वाइँ आचार्य पराजित भए । चुनाव हारे पनि प्रचण्डका ज्वाइँ जीवन सत्ताको केन्द्रमै छन् । प्रचण्डका ज्वाइँ जीवनले उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष सल्लाहकारको नियुक्ति पाए ।
प्रचण्डको परिवारमोहको फेहरिस्त यत्तिमै सकिँदैन । ०७० चैतमा निधन भएकी जेठी छोरी ज्ञानु दाहालका पति सागर केसीलाई तत्कालीन सभामुख कृष्णबहादुर महराको स्वकीय सचिवमा नियुक्त गराए ।
प्रचण्डका ज्वाइँ तथा प्रचण्डपुत्री रेनुका श्रीमान् अर्जुन पाठक सरकारी सुविधासहित आफ्नै श्रीमती तथा भरतपुर महानगरकी मेयर रेनुको विशेष सल्लाहाकार पद पाउन योग्य ठहरिए । प्रचण्डका बहिनीज्वाइँ खेम भण्डारीले प्रचण्डकै कृपाका कारण भरतपुर अस्पतालको अध्यक्षमा नियुक्ति पाए ।
प्रचण्डलाई काका सम्बोधन गर्ने महेश दाहाल प्रचण्डकै परिवारपथको बाटोबाट ०७६ असोजमा अस्ट्रेलियाको राजदूत नियुक्त भए । ०७८ वैशाखमा ओली सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने क्रममा दाहाललाई पनि फिर्ता बोलाइसकिएको छ ।
०७३ ताका त प्रचण्डले माओवादीलाई झण्डै-झण्डै आफ्नै परिवारको एकलौटी जस्तै बनाएका थिए । ०७३ पुसमा केन्द्रीय सदस्य संख्या बढाएर ३ हजार ९ सय ९९ पुर्याउँदा प्रचण्ड परिवारका १४ जना केन्द्रीय सदस्य थिए ।
साउन-भदौ ०६१ मा रोल्पाको फुन्टीबाङमा भएको माओवादी केन्द्रीय समिति बैठकबाट प्रचण्डका भाइ नारायण दाहालले केन्द्रीय समितिमा प्रवेश पाएसँगै माओवादीमा प्रचण्डको परिवारपथले प्रवेश पायो । ०६३ मा शान्ति प्रक्रियामा आएपश्चात माओवादीमा देखिएको विग्रहपछि त प्रचण्डको परिवारपथले माओवादीमा फैलिने अवसर पायो ।
शान्ति सम्झौता हुँदै संसदीय राजनीतिमा प्रवेश गरेपछि माओवादी पार्टीभित्र प्रचण्ड परिवारपथको जबर्जस्त प्रवेश भयो । त्यसपछि क्रमश टुटफुट हुँदै गएको माओवादीभित्र आफ्नो पकड बलियो देखाउन प्रचण्डले परिवारका सदस्यलाई पार्टीको उच्च तहमा पुर्याए । प्रचण्ड पत्नी सीता दाहाल कहिले माओवादीको सल्लाहकार कमिटीमा परिन् त कहिले केन्द्रीय सदस्यमा ।
शान्तिपूर्ण राजनीतिमा आएलगत्तै ०६४ को संविधानसभा चुनावमा प्रचण्डले छोरी रेनुलाई समानुपातिक उम्मेदवार बनाएर प्रचण्डले परिवारपथको यात्रा सुरु गरेका थिए । छोरीबाट सुरु भएको प्रचण्डको परिवारपथ अहिले विस्तार हुँदै ज्वाइँ, भतिजा, भाइ, बन्धुसम्म पुगेको छ ।
कुनै समय मार्क्सवाद र लेनिनवादसँग आफ्नो नाम जोड्दै प्रचण्डपथ सिर्जना गर्न लगाएका प्रचण्डको नामको पथमा मणि थापाले गीत नै लेखेका थिए-
‘मार्क्सवाद, लेनिनवाद, माओवादको बाटो हो यो
संसारलाई फेर्न सक्ने प्रचण्डपथ हो यो ।’
प्रचण्डपथले प्रचण्ड परिवारका सदस्यको जीवन भने फेरेको छ । आज आएर परिवारपथमा तब्दील भएको छ प्रचण्डपथ । शिलापत्र


