कांग्रेसका नेता–कार्यकर्ता कसैको दास हैनन – थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन हुने घोषणा गरेका छन्। आइतबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित कांग्रेस विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले महाधिवेशन प्रतिनिधिहरूले नै नीति र नेतृत्व परिवर्तनको स्पष्ट माग राखेको बताए।
थापाले प्रतिनिधिहरूको चाहनाअनुसार पार्टी अब पुरानै ढाँचामा अघि बढ्न नसक्ने स्पष्ट पारे। “प्रतिनिधिहरूले नीति पनि बदल्ने, नेता पनि बदल्ने भनेर माग गर्नुभएको छ,” उनले भने, “यो प्रक्रिया कहाँ गएर टुंगिन्छ, मलाई पनि थाहा छैन।” उनले पार्टीभित्र चलिरहेको बहस र दबाबले कांग्रेसलाई निर्णायक मोडतर्फ लैजाने संकेत गरेको उल्लेख गरे।
उनले कांग्रेसका नेता–कार्यकर्ता कसैको दास नभएको र पार्टीभित्र लोकतान्त्रिक अभ्यासमार्फत निर्णय हुने स्पष्ट सन्देश पनि दिए। विशेष महाधिवेशनमा देखिएको उत्साह र प्रतिनिधिहरूको सक्रियताले पार्टीभित्र परिवर्तनको लहर मजबुत बनेको उनको भनाइ थियो।
महामन्त्री थापाको यो अभिव्यक्तिलाई कांग्रेसभित्र नीति, नेतृत्व र कार्यदिशा पुनःनिर्धारणतर्फको खुला संकेतका रूपमा हेरिएको छ। विशेष महाधिवेशनमार्फत पार्टीले कस्तो निर्णय लिन्छ भन्नेबारे अब सबैको ध्यान केन्द्रित भएको छ। हिमालपत्रीका


