केही वैदेशिक तत्वहरू नेपाल भारतको सम्बन्ध बिगार्न चाहेको जिकिर
०३ गते पौष २०७८ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीच सम्बन्ध बिगार्न नचाहेको बताएका छन् । भारतको उत्तराखण्ड राज्यमा मङ्गलवार भएको एक कार्यक्रममा उनले केही तत्वहरूले दुई देशबीचको सम्बन्ध बिगार्न चाहेको आरोप लगाए ।
उनले तेस्रो पक्ष को हो भन्नेबारे केही खुलाएका छैनन् । उनले नेपालसँग भारतको रोटी बेटी तथा सांस्कृतिक सम्बन्ध रहेको दोहोर्याए । साथै उनले भारतले नेपालसँगको सम्बन्ध कहिल्यै पनि बिगार्न नचाहेको बताए । उनले भने, ‘जेसुकै भए पनि हामीलाई शीर झुकाउनु किन नपरोस् तर नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौं ।’
सिंहले सन् २०२० को मे महिनामा नेपाल, भारत र चीन बीचको त्रिदेशीय बिन्दु लिपुलेक हुँदै तिब्बत जोड्ने मानसरोवर सडकको उद्घाटन गरेका थिए । नेपालले आफ्नो दाबी गर्दै आएको लिपुलेक र लिम्पियाधुरा क्षेत्रबाट सडक निर्माण गरिएकाले भारतसमक्ष त्यसको कुटनीतिक रूपमै विरोध जनाएको थियो ।
तिब्बतको उल्लेख गर्दै उनले तिब्बतसँग भारतको पनि भावनात्मक सम्बन्ध रहेको तर अहिले परिस्थिति बदलिएको बताए । तर, लिपुलेक पास हुँदै मानसरोवर जाने बाटो खुलेको उनले बताए ।


