१३ मंसिर २०८३, शनिबार

जनकपुर-अयोध्या क्षेत्रीय उडानका लागि बुद्ध एयर इच्छुक, तर छैन सरकारको तयारी

एसीपी संवाददाता

७ मंसिर २०८०, बिहीबार ०७:५० मा प्रकाशित

नेपाल नागरिक उड्‍डयन प्राधिकरणले जनकपुर-अयोध्या नियमित क्षेत्रीय उडानको सम्भावना रहेको बताएको छ। ‘तर सरकारले उडान गर्न चाहनुपर्छ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने।

अयोध्यामा उडान गर्न जनकपुर विमानस्थलमा अध्यागमन, भन्सार लगायत कार्यालय चाहिन्छ। तर ती अत्यावश्यक कार्यालय खोल्ने विषयमा कुनै पहल भएको छैन।

‘अन्तर्राष्ट्रियस्तरको नभएका कारण जनकपुरबाट क्षेत्रीय उडान मात्र सम्भव छ। कुनै चार्टर्ड फ्लाइट गर्न सकिन्छ। क्षेत्रीय उडानका लागि पनि विशेष प्रकृया पूरा गर्नुपर्ने हुन्छ,’ उनले भने। उडानका लागि भारतले पनि अनुमति दिनुपर्छ।

सरकारका तर्फबाट कुनै तयारी नभएपनि बुद्ध एयरले भने सम्भाव्यता अध्ययन थालेको छ। ‘बुद्धले बजार अध्ययन सुरु गरिसकेको जानकारी आएको छ,’ भुलले भने।

बुद्धले प्राधिकरणमा भने जनकपुर-अयोध्या उडान योजनाबारे जानकारी गराएको छैन। ‘जनकपुर-अयोध्या उडानका लागि कसैले पनि अनुमति नमागेकाले हामीले जनकपुरमा अध्यागमन, भन्सार लगायत कार्यालय खोल्न चासो दिएका छैनौं,’ भुलले भने, ‘अनुमतिका लागि निवेदन परे हामी छलफल गरेर प्रक्रिया अगाडि बढाउँछौं।’

बुद्धले तीन वर्ष अगाडि नै जनकपुर-अयोध्या उडानका लागि इच्छा देखाएको थियो। तर विमानस्थल निर्माणमा ढिलाइ भएकाले त्यतिखेर उसको योजना रोकिएको थियो।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ५ वर्षअघि जनकपुर भ्रमणका क्रममा अयोध्यामा उडानका लागि प्रस्ताव गरेका थिए। त्यतिखेर उनी विवाह पञ्‍चमी महोत्सवमा मुख्य अतिथिका रुपमा सहभागी हुन निजी विमान चढेर जनकपुर विमानस्थल आएका थिए। अयोध्या विमानस्थल त्यतिखेर निर्माणाधीन रहेकामा अहिले करिब करिब सम्पन्‍न भएको छ।

जनकपुर सीताको र अयोध्या भगवान रामको जन्मस्थल हो। त्यसैले जनकपुर-अयोध्या उडान गर्दा धार्मिक पर्यटन बढ्ने विश्‍वास छ। सीताको जन्मस्थल भएकाले जनकपुरस्थित जानकी मन्दिरमा भारतीयहरु ठूलो संख्यामा आउने गरेका छन्।

अयोध्यामा भारत सरकारले रामको विशाल मन्दिर निर्माण गरेको छ। विमानस्थल राम मन्दिरबाट ८ किलोमिटरको दूरीमा छ।

अयोध्याको फैजावादमा अवस्थित विमानस्थल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको महत्वाकांक्षीमध्येको परियोजना हो।

विमानस्थल एटीआर-७२ र क्यु-४०० सँगै एयरबस ३२० र बोइङ ७७७ सिरिजका जहाज आउजाउ गर्न सकिने गरी बनाइएको छ। साढे तीन अर्ब भारतीय रुपैयाँमा तयार विमानस्थल ८२१ एकड क्षेत्रफलमा फैलिएको छ। यो विमानस्थलबाट सुरुमा दिल्ली, मुम्बई, बैंगलोर र हैदरावादमा उडान गर्ने तयारी छ।

अयोध्याकै परम्परागत शैली झल्किने विमानस्थलको टर्मिनल भवनमा ‘फसाद’ प्रयोग गरिएको छ। विमानस्थलको टर्मिनल भवन ६ हजार वर्गमिटरको हो जसमा एकैपटक ३०० यात्रुले सेवा लिन सक्ने छन्।

पहिलो टर्मिनल भवनमार्फत आउँदो जनावरीबाट सेवा सुरु गर्ने तयारी छ। बाँकी दुई वटा टर्मिनल भवन दुई वर्षभित्र तयार गरी सञ्‍चा लनमा ल्याउने बताइएको छ।

उत्तर प्रदेशमा चौधरी चरण सिंह र लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल यसअघि देखि नै सञ्‍चालनमा छन् भने कुशीनगर र नोयडा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन्।  बिजमानडु

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x