११ भाद्र २०८३, बिहीबार

जेन–जी आन्दोलनका घाइते भन्छन्: हाम्रो रगतले न्याय पाओस्

एसीपी संवाददाता

२८ भाद्र २०८२, शनिबार १५:४६ मा प्रकाशित

यतिका वर्ष लगानी गरेर हुर्काएको छोरामाथि राज्यले अनाहक गोली बर्साएपछि कसको चित्त दुख्दैन? मेरो छोराको छ धन्न खुट्टामा गोली लागेको छ,’ आक्रोश पोख्दै दीपराजका बुबा प्रदीप राई भन्छन्, ‘कतिपयको त छाती र टाउको फुट्ने गरी गोली हानेको रहेछ। आफ्ना सन्तानलाई राज्यले त्यसरी गोली ठोक्दा कुन आमाबाबुको मन रुँदैन?’ आफ्ना नागरिकको ज्यान जोगाउनुपर्ने राज्य यसरी गैर जिम्मेवार बनेको प्रदीपलाई चित्त बुझेको छैन।

‘हाम्रा छोरा छाेरी अपराधी थिएनन्, देशद्रोही थिएनन्। आफ्नो हक माग्न गएका हुन्। देशले भरोसा गरेका ठुला पार्टी(राजनीतिक पार्टी)को सरकार भएका बेला यसरी सन्तानमाथि गोली लाग्दा चित्त दुख्छ,’ प्रदीपले अगाडि भने। जनताले विश्वास गरेर पठाएका नेताले देशलाई घात गरेर कंगाल बनाएकाले अहिले जेन–जी आन्दोलनका रूपमा आक्रोश उठेको उनको बुझाई छ।

दीपराजसँगै अर्को बेड(४१७)मा सिन्धुपाल्चोक जलवीरे–१ का अभिषेक श्रेष्ठ पनि उपचाररत छन्। उनको पनि दाहिने खुट्टामा गोली लागेको छ। उनको चोट अझ गम्भीर छन्। ‘हामी धन्न बाँचेछौँ, बाँचेकैले बाआमा सामू हामी भौतिक रूपमा छौँ। जसले ज्यानको बलिदानी दिए। उनीहरूका बाआमाको हालत के होला?,’ अभिषेक फरक सुनिए।

ट्रमा सेन्टरमै अर्का घाइते रौतहटका सुमन राई उपचाररत छन्। उनका बुबा वैदेशिक रोजगारीका क्रममा कुवेतमा छन्। आमा सुस्मा राईले अस्पतालमा कुरिरहेकी छन्। ‘चाडबाड नजिक आइरहेका बेला छोराले गोली खायो। बुबाले सुर्ता गरिराख्नुभएको छ,’ उनले भनिन्, ‘अब भविष्यमा काम गरेर खान सक्छ कि सक्दैन? मलाई पनि यही पिर छ।’ देशका लागि रगत बगाएको छोरो भोलि शारीरिक रूपमा कमजोर हुँदा सरकारले हेरिदिँदैन कि भन्ने चिन्ता सुस्माको छ।

इलाम माई नगरपालिका–७ का २० वर्षीय लुसन सुब्बा काठमाडौंमैं अध्ययनरत छन्। जेन–जी आन्दोलनकै क्रममा उनलाई पनि गोली लागेको थियो। अहिले ट्रमा सेन्टरमै उपचाररत छन्।

‘संसद् भवन पनि कहाँ हो भन्ने थाहा थिएन, आन्दोलन कस्तो हुन्छ नि थाहा थिएन,’ लुसनले भने, ‘आन्दोलनमा घाइते भएर अस्पताल छु ।’ उनका आमाबुबा काठमाडौं आउनै सकेका छैनन्। गाउँले भाइ उनका अस्पताल कुरुवा छन्। ‘मलाई गोली लागेको सुन्दा बाआमा दुःखी हुनुहुन्छ, फोनमा रोइरहनु हुन्छ,’ उनले भने।

त्यो दिन ढुंगा हान्ने, तोडफोड गर्ने काममा आफू नलागेको लुसन बताउँछन्। ‘आन्दोलन उग्र हुन थालेपछि घर फर्कन लाग्दा पछाडिबाट गोली लाग्यो,’ समीरले भने।

देश सुधारको आशा 

अस्पतालमा उपचाररत घाइते र आफन्तहरूमा देशमा अपेक्षाकृत सुधार भएको हेर्ने आशा छ। ‘हामीले भोगिरहेको अन्यौलता हटोस्, भविष्य राम्रो होस् भनेरै आन्दोलनमा निस्किएका थियौँ,’ घाइते लुसन भन्छन्, ‘गोली लागेर म घाइते भए पनि अब देशको अन्योल छिट्टै हटोस् र नयाँ बनेको सरकारले जनतालाई केन्द्रमा राखेर काम गरोस् भन्ने चाहना छ।

भदौ २३ गते अभिभावकलाई खबर नगरेर सुटुक्क जेन–जी आन्दोलनमा निस्किएकी मोरङ रतुवामाई–८ की लिजा अधिकारीको हातमा गोली लागेको छ। पछि आमाले थाहा पाएपछि फोन गरेर गाली गरेकी थिइन्।

‘ममी घर फर्किहालेँ भनेर झूट बोलेँ। त्यसको दुई मिनेटमै गोली लागिहाल्यो,’ लिजाले भनिन्, ‘बाँचेछु, अहिले खुसी छु।’ आफूले उठाएको भ्रष्टाचार मुक्त देश बनाउने सपना पूरा भएको हेर्ने उनको रहर छ।

घाइते दीपराजका बुबा प्रदीप आफ्नो परिवारमा परेको विपदभन्दा देशमा भएको बेथिति अन्त्य भइदिए खुसी मिल्ने बताउँछन्। ‘छोरा त घाइते भयो, उपचार हुँदै छ, सन्चो पनि होला। तर, अब उसको बगेको रगतले न्याय पाउनुपर्छ,’ उनले भने, ‘त्या भनेको देश भ्रष्टाचारको दलदलबाट बाहिर निस्किनुपर्छ। देशले चाहेजस्तो विकास पाउनुपर्छ र छोराहरूले चाहेजस्तो उनीहरूको भविष्य बन्नुपर्छ।’

दीपराज पनि बुबाको भनाइसँग सहमत छन्। ‘हामीले यो आन्दोलन भौतिक क्षति र मानवीय क्षतिका लागि गरेका थिएनौँ। त्यो दिन ठ्याक्कै विपरीत भयो। अब सरकार बनेको छ। यो सरकारप्रति हामी जेन–जीको आशा छ। हामी बगाएको रगतको नतिजा राम्रो आउने आशामा छौँ,’ उनले भने।

अर्का घाइते अभिषेकको बुझाई भने फरक छ। उनले जेन–जी आन्दोलनमा जे भयो, त्यो सोचेकै थिएनन्। ‘न हामीले सार्वजनिक सम्पत्तिमा तोडफोड चाहेका थियौँ, न मानवीय क्षति, तर उल्टो भयो। देशलाई ठुलो घाटा लागेको छ,’ अभिषेकले भने। अहिले बनेको सरकारसँग पनि उनी सन्तुष्ट छैनन्।

‘हामी वास्तविक जेन–जीले आन्दोलन गर्‍यौं, गोली खायौँ। कति साथी मारिए,’ उनले भने, ‘तर अहिले बनेको सरकारमा जेन–जी नै छैनन्। यसले कतै हाम्रो आन्दोलनको बहानामा अरूले नै फाइदा लिए कि भन्ने लागेको छ।’ जे सुकै भएपछि जेन–जीले बगाएको रगतले न्याय पाउनुपर्ने उनको माग छ। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x