टिकटकका प्रतिनिधिलाई नेपाल बोलाएर छलफल गरेको थियोे
सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि त्यसको व्यापक विरोध भइरहेको छ । सबै नेपालीहरू तिहारको रमझममा रहेका बेला सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अकस्मात टिकटक बन्द गर्ने निर्णय गरेपछि राजनीतिक क्षेत्रबाट मात्र नभएर चौतर्फी विरोध भइरहेको छ ।
सत्ता साझेदार दलदेखि विपक्षी दलका नेताहरूले समेत सरकारको यो निर्णयको विरोध गरेका छन् । सरकारका प्रवक्ता तथा सञ्चामन्त्री रेखा शर्माले भने यो विषयमा राजनीतिक सहमति जुटाएर निर्णय गरिएको भन्दै निर्णय फिर्ता नहुने बताएकी छिन् । उनले धेरै पहिलादेखि तयारी भएको र आज बन्द गर्ने निर्णय भएको बताएकी छिन् । सामाजिक सद्भाव बिथोलेकोले बन्द गर्ने निर्णय गरिएको सरकारको जिकिर छ ।
सरकारले टिकटक बन्द गर्ने निर्णयअघि नियमनको तयारी गरेको थियो । त्यसका लागि १७ कात्तिकमा सिंगापुरस्थित टिकटकका प्रतिनिधिलाई नेपाल बोलाएर छलफलसमेत गरेको थियो । सो छलफलमा गृह मन्त्रालयका प्रतिनिधि, सञ्चार मन्त्रालयका प्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधि सहभागी थिए ।
सो छलफलपछि १९ कात्तिकमा एक सूचना जारी गर्दै गृह मन्त्रालयले टिकटकमा अवाञ्छित गतिविधि नगर्न सचेत गराएको थियो । प्रहरीको साइबर ब्युरोले यसमा कडाइ गर्ने बताएको थियो ।
यति मात्र नभई अघिल्लो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल नियमन गर्न निर्देशिकासमेत जारी गरेको थियो । सो निर्देशिकामा सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न नहुने १९ बुँदा समावेश गरिएको छ ।


