नेपालगञ्जमा युवा व्यवसायीहरूको संयुक्त लगानीमा ‘राधे डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा स्थानीय उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनामा योगदान पुग्ने विश्वास
दिनेश ठाकुर नेपालगञ्ज, मसिर ४ गते — बाँकेको नेपालगञ्जमा स्थानीय युवा व्यवसायीहरूको संयुक्त लगानीमा ‘राधे डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ। युवा उद्यमी पंकज कनोजिया, सुशील, हेरीलगायतको संयुक्त टिमले नयाँ व्यावसायिक सोच र योजनासहित स्टोर सञ्चालनमा ल्याएको हो।स्टोरको उद्घाटन तथा शुभारम्भ कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेका नेता तथा कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा रास्वपा नेपालगञ्ज नगर सभापति नवीन खड्कालगायतका नेताहरू सहभागी भएका थिए।
शुभारम्भ कार्यक्रममा बोल्दै सहभागीहरूले युवा व्यवसायीहरूको सक्रियता, मेहनत, लगनशीलता र उद्यमशील सोचको प्रशंसा गर्दै नयाँ व्यवसायप्रति खुसी व्यक्त गरे। उनीहरूले युवाहरू रोजगारी खोज्ने मात्र नभई आफैँ उद्यमी बनेर अरूलाई समेत रोजगारी दिने दिशामा अघि बढ्नु सकारात्मक भएको बताए।
‘युवाहरूले संयुक्त लगानीमा व्यवसाय सञ्चालन गर्नु आर्थिक आत्मनिर्भरतातर्फको महत्वपूर्ण कदम हो।
यस्ता उद्यमले स्थानीय बजारलाई चलायमान बनाउनुका साथै रोजगारी सिर्जना र समग्र आर्थिक विकासमा समेत योगदान पुर्याउँछन्,’ सहभागीहरूको भनाइ थियो।सहभागीहरूले राधे डिपार्टमेन्टल स्टोरले आगामी दिनमा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै व्यापारिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास व्यक्त गरे। साथै, स्टोरको व्यवसाय विस्तार हुँदै भविष्यमा देशका विभिन्न स्थानमा शाखा सञ्चालन गर्न सफल होस् भन्दै सञ्चालक टिमलाई सफलताको शुभकामना दिएका थिए।
स्थानीय युवा व्यवसायीहरूको संयुक्त लगानीमा सुरु भएको यस व्यवसायले नेपालगञ्जको व्यापारिक गतिविधिमा थप ऊर्जा प्रदान गर्नुका साथै युवामा उद्यमशीलता र स्वरोजगारप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ।


