५ मंसिर २०८३, शुक्रबार

सुरक्षित भविष्य परियोजनाबाट १२ परिवारलाई झण्डै ३ लाखको राहत तथा जीविकोपार्जन सहयोग बर्दियामा बाढी प्रभावित ८ परिवारलाई राहत, ४ परिवारलाई व्यवसाय विस्तारका लागि सहयोग

एसीपी संवाददाता

५ मंसिर २०८३, शुक्रबार १८:४६ मा प्रकाशित

गुलरिया (बर्दिया) मसिर ४ गते — बाढीबाट प्रभावित तथा आर्थिक रूपमा विपन्न परिवारलाई राहत प्रदान गर्नुका साथै उनीहरूको आयआर्जन र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सुरक्षित भविष्य परियोजनामार्फत १२ परिवारलाई करिब ३ लाख रुपैयाँ बराबरको राहत तथा जीविकोपार्जन सहयोग प्रदान गरिएको छ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राधाकृष्ण थारू जनसेवा केन्द्र (आरकेजेएस) र बाँके युनेस्को क्लब (बीयूसी) द्वारा सञ्चालित ‘सुरक्षित भविष्य परियोजना’ अन्तर्गत कुल २ लाख ९५ हजार ६ सय ८९ रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको हो।

गुलरियामा आयोजित एक कार्यक्रमका बीच भोटेकोशी (रसुवा) मा आएको बाढीबाट प्रभावित प्रायोजित बालबालिकाका ८ परिवारलाई खाद्य तथा सरसफाइ सामग्रीसहित राहत प्रदान गरिएको छ भने अन्य ४ परिवारलाई व्यवसाय विस्तार तथा आयआर्जनका लागि सहयोग हस्तान्तरण गरिएको हो।

बाढी प्रभावित ८ परिवारलाई राहत
बाढीबाट प्रभावित परिवारको तत्कालीन आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्यले ८ परिवारलाई प्रतिपरिवार १४ हजार ७ सय ९६ रुपैयाँ बराबरका खाद्य तथा सरसफाइ सामग्री वितरण गरिएको छ। यसअन्तर्गत कुल १ लाख १८ हजार ३ सय ६८ रुपैयाँ बराबरको राहत उपलब्ध गराइएको परियोजनाले जनाएको छ।

४ परिवारलाई व्यवसाय विस्तार सहयोगत्यसैगरी, प्रायोजित बालबालिकाका परिवारको आर्थिक अवस्था सुधार गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले ४ परिवारलाई कुल १ लाख ७७ हजार ३ सय २१ रुपैयाँ बराबरको व्यवसाय विस्तार सहयोग प्रदान गरिएको छ।

सहयोगअन्तर्गत ३ परिवारलाई किराना पसल विस्तारका लागि प्रतिपरिवार ४४ हजार १ सय २ रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको छ। त्यस्तै, एक परिवारलाई साइकल पसल सञ्चालन तथा विस्तारका लागि ४५ हजार १५ रुपैयाँ बराबरको सामग्री तथा आर्थिक सहयोग प्रदान गरिएको छ।

संस्थाका प्रतिनिधिद्वारा सहयोग हस्तान्तरण
कार्यक्रममा राधाकृष्ण थारू जनसेवा केन्द्र (आरकेजेएस) का अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, सचिव युवराज श्रेष्ठ, कोषाध्यक्ष यज्ञराज पोखरेल र प्लान इन्टरनेशनल नेपालकी प्रशासन सहायक सुजिता थापाले संयुक्त रूपमा लाभग्राही परिवारलाई राहत तथा व्यवसाय विस्तारका सामग्री हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण आरकेजेएसका कार्यक्रम अधिकृत राजेन्द्र चौधरीले गर्नुभएको थियो।

सहयोग हस्तान्तरणका क्रममा संस्थाका प्रतिनिधिहरूले विपद्का कारण समस्यामा परेका परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको दीर्घकालीन आर्थिक अवस्था सुधार गर्न जीविकोपार्जनका अवसर सिर्जना गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

बालबालिकाको सुरक्षित भविष्य निर्माणमा सहयोग पुग्ने अपेक्षा
बालबालिका, किशोरकिशोरी तथा युवाको संरक्षण, बालविवाह न्यूनीकरण, समावेशी शिक्षा र परिवारको सामाजिक तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको सुरक्षित भविष्य परियोजनाले राहत तथा जीविकोपार्जनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।

परियोजनामार्फत प्रदान गरिएको सहयोगले बाढी प्रभावित परिवारलाई तत्कालीन राहत मिल्नुका साथै व्यवसाय विस्तारमा संलग्न परिवारको आम्दानी वृद्धि र आर्थिक आत्मनिर्भरतामा टेवा पुग्ने अपेक्षा गरिएको छ।परिवारको आर्थिक अवस्था सुदृढ हुँदा बालबालिकाको शिक्षा, संरक्षण र समग्र विकासमा सकारात्मक प्रभाव पर्ने विश्वाससहित परियोजनाले सुरक्षित, समावेशी र समुन्नत भविष्य निर्माणको अभियानलाई निरन्तरता दिएको जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x