बाँके जिल्ला हक्की संघलाई वडा नं. ८ का अध्यक्ष रजनीश बाजपेयीद्वारा खेलकुद सामग्री हस्तान्तरण
नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ को कार्यालयले बाँके जिल्ला हक्की संघलाई हक्की खेलकुद सामग्री हस्तान्तरण गरेको छ।
वडा नं. ८ का वडा अध्यक्ष रजनीश बाजपेयी (विवेक) ले एक कार्यक्रमका बीच संघका पदाधिकारीहरूलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो। स्थानीय स्तरमा हक्की खेलको विकास, प्रवर्द्धन तथा खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले वडा कार्यालयको तर्फबाट उक्त सहयोग प्रदान गरिएको हो।
सामग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष बाजपेयीले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न र स्वस्थ समाज निर्माण गर्न वडा कार्यालयले खेल क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि खेलकुदको विकासका लागि आवश्यक साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हक्की सामग्री प्राप्त गरेपछि बाँके जिल्ला हक्की संघका पदाधिकारीहरूले वडा अध्यक्ष बाजपेयी तथा वडा कार्यालयप्रति आभार व्यक्त गरेका छन्। वडाले प्रदान गरेको यो सहयोगले खेलाडीहरूको नियमित अभ्यास र आगामी प्रतियोगिताको तयारीमा ठूलो मद्दत पुग्ने संघले विश्वास लिएको छ।



