रास्वपा बाँकेद्वारा दुई जनालाई विभिन्न विभागको जिम्मेवारी, संगठन सुदृढीकरणमा जोड युवा सशक्तीकरण तथा खेलकुद विभागको उपप्रमुखमा शर्मा, र्यापिड एक्सन टिम प्रमुखमा बराल नियुक्त
नेपालगन्ज , मसिर ३ गते — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेले पार्टीको संगठन विस्तार, सुदृढीकरण तथा सांगठनिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले दुई जनालाई विभिन्न विभागको जिम्मेवारीमा नियुक्त गरेको छ।
पार्टीले युवा सशक्तीकरण तथा खेलकुद विभागको उपप्रमुखमा मदनराज शर्मा र र्यापिड एक्सन टिम (र्याट) विभाग प्रमुखमा हेमराज बराललाई नियुक्त गरेको हो।नेपालगन्जमा आयोजित विशेष नियुक्ति कार्यक्रममा उनीहरूलाई पार्टीको जिम्मेवारी प्रदान गरिएको थियो।
कार्यक्रममा रास्वपा बाँकेका जिल्ला सभापति विवेककुमार श्रेष्ठ, बाँके क्षेत्र नं. २ का सभापति बालकृष्ण लामिछाने, नेपालगन्ज उपमहानगरपालिका नगर सभापति नवीन खड्कालगायत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
नियुक्तिपछि नवनियुक्त पदाधिकारीहरूले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी इमानदारिता, निष्ठा र सक्रियताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले संगठनलाई थप व्यवस्थित, गतिशील र जनतामाझ प्रभावकारी बनाउँदै पार्टीका गतिविधिलाई अगाडि बढाउने बताएका छन्।
पार्टीले विभिन्न विभागमा जिम्मेवारी बाँडफाँट गर्दै संगठनलाई थप सक्रिय बनाउने र युवा सहभागिता तथा सांगठनिक क्रियाकलापलाई प्राथमिकता दिने लक्ष्य लिएको जनाएको छ।
रास्वपा बाँकेको यस नियुक्तिलाई पार्टीको स्थानीय संगठन विस्तार तथा विभागीय संरचनालाई थप सक्रिय बनाउने प्रयासका रूपमा हेरिएको छ।


