३२ असार २०८३, बिहीबार

नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विरोधमा श्रद्धाञ्जली सभा र जुलुस

एसीपी संवाददाता

८ फाल्गुन २०८१, बिहीबार १६:५१ मा प्रकाशित

नुर मोहम्मद अन्सारी
सर्लाही जिल्लाको हरिपूर नगरपालिकामा नेपाल मुस्लिम शान्ति समाज फरहदवा र श्री जनता माध्यमिक विद्यालय हरिपुर-३ फरहदवाका विद्यार्थीहरूले नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विरोधमा श्रद्धाञ्जली सभा र जुलुस आयोजना गरेका छन्। उनीहरूले सरकारसँग दोषीमाथि कडा कारबाहीको माग गर्दै, न्याय नपाएमा पुनः आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

प्रकृति लम्साल, बुटवलकी २० वर्षीया बी-टेक तेस्रो वर्षकी विद्यार्थी, भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा फेब्रुअरी १६, २०२५ मा मृत फेला परेकी थिइन्। यस घटनापछि विश्वविद्यालय प्रशासनले दुई सुरक्षा गार्डलाई बर्खास्त गरेको छ भने दुई वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई निलम्बन गरेको छ।

यसैबीच, घटनामा संलग्न रहेको आरोपमा विश्वविद्यालयका तीन निर्देशकसहित छ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमा एक भारतीय विद्यार्थी, तीन निर्देशक र दुई सुरक्षा गार्ड रहेका छन्।

प्रकृति लम्सालको मृत्युपछि नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका थिए। उनीहरूले लम्सालमाथि भारतीय विद्यार्थी आड्भिक श्रीवास्तवले दुर्व्यवहार गरेको र प्रशासनले उजुरीको सुनुवाइ नगरेको आरोप लगाएका छन्। श्रीवास्तवलाई आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको छ।

नेपाल सरकार र भारतस्थित नेपाली दूतावासले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको अनुसन्धान अघि बढाएको छ।

सर्लाहीका स्थानीयहरूले पनि यस घटनाप्रति ऐक्यबद्धता जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूले न्याय नपाएमा थप आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

4.5 2 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x