३० श्रावण २०८३, शनिबार

नेपाली राष्ट्रिय क्रिकेटर लामिछाने नाबालिक बलात्कार मुद्दामा दोषी ठहर

एसीपी संवाददाता

१४ पुष २०८०, शनिबार ०९:४५ मा प्रकाशित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने नाबालिक बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । उनलाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर्याएको हो ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका हुन् । यो संहिता अनुसार सन्दीपलाई ७ देखि १० वर्षसम्म सजाय हुन सक्ने देखिन्छ । अदालतले पीडितलाई बालिग ठहर्याएको भए पनि जबरजस्ती करणी गरेको भन्दै सन्दीपलाई सजाय सुनाएको हो ।

सजाय निर्धारणका लागि आगामी पुस २५ गतेका लागि पेशी तोकिएको छ । सन्दीप राष्ट्रिय टिमको कप्तान भएका बेलामा गत वर्षको भदौ ५ गते उनले ती पीडितमाथि राजधानीको गौशालामा रहेको एक होटलमा बलात्कार गरेका थिए । पीडितले जबरजस्ती करणीको आरोपमा भदौ २१ गतेमात्र जाहेरी दिएकी थिइन् ।

पीडितले दिएको जाहेरीलाई प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएपछि भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । क्रिकेट खेल्न विदेश गएका बेलामा पक्राउ पुर्जी जारी भए पनि उनी नेपाल भने एक महिनापछि मात्र फर्केका थिए । असोज २० गते मात्रै नेपाल फकिएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै प्रहरीले प्रक्राउ गरेको थियो ।  त्यसपछि कार्तिक १४ गते प्रहरीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

उनी जेलमा रहेर अनुसन्धान भइरहँदा उच्च अदालत पाटनले उनलाई पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि थुनामुक्त भएका थिए ।  उनी थुनामुक्त मात्र भएनन्, राष्ट्रिय टिममा रहेर क्रिकेट पनि खेले । उनलाई उच्च अदालतले विदेश जान नपाउने भनेको भए पनि विदेश जानका लागि सर्वोच्च अदालतमा गएसँगै उनले त्यो सुविधा पनि पाएका थिए ।  तर, मुद्दा दर्ता भएको १४ महिनापछि फैसला आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x