पत्रकारमाथि धम्की र गालीगलौजको घटनाप्रति महासङ्घ लुम्बिनीको आपत्ती
भालुवाङ पुस । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले कपिलवस्तुका सक्रिय सञ्चारकर्मी तथा रेडियो बाणगंगाका स्टेशन म्यानेजर गणेश पोखेलमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज र भौतिक आक्रमणको धम्की दिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
महासङ्घ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डव शर्माद्वारा जारी विज्ञप्तिमा समाचारप्रति असहमति वा गुनासो भए त्यसको समाधान कानुनी प्रक्रिया र नियमनकारी निकायमार्फत खोजिनुपर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा समाचारकै विषयलाई लिएर पत्रकारलाई धम्की दिने, डरत्रास सिर्जना गर्ने र अपमानजनक भाषा प्रयोग गर्ने कार्य निन्दनीय र प्रेस स्वतन्त्रताविरुद्धको कदम भएको स्पष्ट गरिएको छ ।
महासङ्घले समाचार लेखनकै कारण सञ्चारकर्मीमाथि हुने कुनै पनि प्रकारको दबाब, दुर्व्यवहार र धम्कीप्रति मौन नबस्ने चेतावनी दिएको छ । साथै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई पहिचान गरेर कानुनअनुसार आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।
विज्ञप्तिमा प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको सुरक्षाको सुनिश्चितता र निर्भीक पत्रकारिताको वातावरण निर्माण गर्नु राज्यका सबै निकायको दायित्व भएको स्मरण गराइएको छ ।


