१५ भाद्र २०८३, सोमबार

बंगुर र बाख्रापालनबाट लाखौं कमाउँदै किसान

एसीपी संवाददाता

३० असार २०८२, सोमबार १७:२१ मा प्रकाशित

मणिराम अगुवा किसान नै हुन्। शिक्षण पेशामा समेत तल्लीन हुने उनको फर्म जिल्लाकै सायद ठूलो हो। व्यावसायिक रूपमै बंगुर फर्म सञ्चालन गर्दै आएको दश वर्ष भएको छ। ‘बंगुरको एउटा पाठालाई ६ हजारसम्ममा बिक्री गर्छौं। पाठापाठी उत्पादनमै जोड दिएको छु’, मणिराम भन्छन्, ‘आफ्नै गाउँठाउँमा राम्रै कमाई भइरहेको छ।’

फर्मबाट उत्पादन भएका बंगुरको पाठा जिल्ला बाहिर समेत बिक्री हुने गरेको छ। उनको फर्ममा ५० वटाको हाराहारीमा माऊ बंगुर हुन्छन् प्रायः बंगुरले पाठा जन्माउने र ठूला भएपछि बिक्री गर्ने क्रम निरन्तर चलिरहन्छ। पाठा जन्मिरहने र बिक्री भइरहने भएकाले बंगुरको पाठा समेत गनेर साध्य नहुने उनले बताए।

अहिले पनि उनको फर्ममा बंगुरका सयौं पाठा छन्। भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र रोल्पाको अनुगमन टोली समक्ष उनले भने, ‘बंगुर पाठा गणना गरेर साध्य नै हुँदैन। जन्मिने र बिक्री हुने क्रम चलिरहन्छ।’

कोरियन बंगुर फर्म यूट्यूबमा हेरेर त्यसकै सिकोमा उनले बंगुरपालन गर्ने संरचना पनि बनाएका छन्। गर्भवती बंगुर राख्ने र सुत्केरी भएपछि राख्ने अलग्गै ठाउँ बनाएका छन्। जहाँ माऊ बंगुर र पाठापाठीलाई हुर्कन सहज हुने संरचना बनाएका छन्। आफ्नै जग्गामा अझै फर्म विस्तार गर्ने सोचमा रहेको बताउँछन्। करोड बढीको लगानी गरिसकेका छन्। उनीबाट प्रभावित भएर गाउँलेले समेत बंगुरपालन सुरु गरेका छन्।

पशु सेवा विज्ञ केन्द्र रोल्पाले यस वर्ष उत्कृष्ट किसानका रुपमा मणिरामलाई पुरस्कृत गरेको छ। ‘उहाँको मेहनत र सफल व्यवसायको मूल्यांकन गरेर पुरस्कृत गरेका हौं’, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. शंकर न्यौपानेले भने।  केन्द्रका अनुसार विगतदेखि हालसम्म १३ लाख हाराहारीमा अनुदान सहयोग गरिएको छ। फर्मको संरचना निर्माण र प्राविधिक सहयोग गरिएको छ। गतवर्ष मात्र १ लाखको अटोमेटिक फिडर, ड्रिंकर र औषधि उपलब्ध भएको थियो।

त्रिवेणी गाउँपालिका–५ नेर्पाकी चन्द्रा घर्तीमगरले पनि बंगुरपालन गरेकी छन्। दीपेश एन्ड मिलन पशुपक्षी फर्म दर्ता गरेर व्यावसायिक बंगुरपालन गरेर राम्रै आम्दानी गरिरहेका छन्। उनकै छिमेकी निर्मला वलीले पनि बंगुर फर्म चलाएका छन्। मासु र पाठाबाट राम्रै आम्दानी गरिरहेका वलीले बंगुरपालन बढवा दिने सोचमा छन्। दुवै फर्मलाई १/१ लाखको अनुदान र प्राविधिक सहयोग भेटेरिनरी अस्पतालले दिएको छ। अनुदानबाट उनीहरूले खोर सुधार गरेका छन्।

त्रिवेणी गाउँपालिका–२ दहवनका किसान भेषबहादुर बस्नेतले अढाई लाखको खसी र बोका बिक्री गरिसकेका छन्। घर नजिकै चिटिक्कको बाख्राको खोर बनाएका छन्। विज्ञ केन्द्रले १ लाख अनुदान दिएपछि उनी अझ हौसिएका छन्। बाख्रापालन व्यवसायलाई अझ विस्तार गर्ने बस्नेत बताउँछन्। पशुपक्षी फर्म दर्ता गरेर चार लाखको खोर बनाएका छन्। बोयर प्रजातिका बाख्रा पालन गरिरहेका छन्। सुखद कुरा ७३ वर्षीया खगे पुन दम्पतीले समेत व्यावसायिक बाख्रा फर्म सञ्चालन गरेका छन्। त्रिवेणी गाउँपालिका–६ पाछाबाङ उनले बाख्रापालन गरेका छन्। उनले पनि डेढ लाख बढीको खसी बोका बिक्री गरेर आम्दानी गरेका छन्। त्रिवेणी गाउँपालिका–५ का मोहनलाल डाँगीले पनि व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका छन्। फर्मबाट राम्रै आम्दानी हुने उनको अनुभव छ।

माछापालनका लागि पनि उपयुक्त मानिने त्रिवेणीको जुँगार आसपासमा माछापालन समेत हुन थालेको छ। व्यावसायिक रूपमै माछापालनका लागि मणिराम घर्ती, तिलकराम खत्री र सुकलाल पुनले माछा पोखरी बनाएर माछापालन गरिरहेका छन्।

विगतमा घरमै खाने गरी माछापालन गर्ने उनीहरूले विज्ञ केन्द्रको अनुदान सहयोगमा पोखरी ठूलो बनाएर माछापालन गरिरहेका छन्। अनुदानको प्रभावकारी कार्यन्वयन भए नभएको बेलाबेला अनुगमन समेत हुँदै आएको छ। विज्ञ केन्द्रबाट आव २०८१/०८२ मा सम्पन्न विभिन्न योजनाको जिल्ला समन्वय प्रमुख सीता आचार्य, प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल सहितको एक टोलीबाट अनुगमन समेत गरेको छ।

व्यावसायिक रूपमा मौसमी र बेमौसमी तरकारी खेतीमा मात्र होइन, यहाँका किसान व्यावसायिक पशुपालन र मत्स्‍य पालनतिर पनि आकर्षित हुँदै गएका छन्। व्यवसायबाट लाखौं कमाउने यी प्रतिनिधिमूलक किसान हुन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. न्यौपानेका अनुसार त्रिवेणी गाउँपालिकामा मात्र बाख्रापालनमा १५, बंगुर पालनमा ७ र मत्स्‍य पालनमा ३ किसानलाई १ लाख बराबर अनुदान दिइएको छ।

जिल्लाभर बाख्रापालनमा २५ र बंगुरपालनमा १४ किसानले अनुदान पाए। दुई बाख्रापालन समूह र बंगुरपालन समूह तर्फ २०/२० लाख अनुदान वितरण गरिएको छ। ५/५ लाख कुखुरापालनमा अनुदान दिइएको विज्ञ केन्द्रले जनाएको छ।

व्यक्तिगत र समूहमा व्यावसायिक पशु फर्म सञ्चालन गरेर किसानले बर्सेनि लाखौं कमाउन थालेका छन्। व्यावसायिक बन्न चाहने किसानलाई स्थानीय तह र प्रदेश सरकारबाट समेत अनुदान सहयोग हुँदै आएका छ। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x