११ आश्विन २०८३, आईतवार

बाँकेको सभापतिका उम्मेदवार गौडेल समूहको सम्पर्क कार्यालय नेपालगन्जमा

एसीपी संवाददाता

१६ पुष २०७८, शुक्रबार १२:५३ मा प्रकाशित

नेपाली कांग्रेस बाँकेको सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सम्पर्क कार्यालय खोलेको छ । नेपालगञ्ज मेडिकल कलेज अगाडि खोलिएको सम्पर्क कार्यालयको आज एक कार्यक्रमका बीच पार्टी सभापति किरण कोइरालाले उद्घाटन गरिन् । पुष २७ गते हुने जिल्ला अधिवेशनका लागि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस पारेर सम्पर्क कार्यालय खोलिएको हो ।

गौडेल समूहको चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गर्दै सभापति कोइरालाले सशक्त, जुझारु र उर्जाशील गौडेल समूहले चुनाव जितेपछि पार्टीमा नयाँ उर्जा सञ्चार हुने बताइन् । “गौडेलजी लगायत अन्य उम्मेदवार सबै स्वयम् उर्जाबान र जुझारु हुनुहुन्छ, उहाँहरुले जितेर आएपछि पार्टीमा नयाँ उर्जा थपिन्छ,” कोइरालाले थपिन् । उनले आजका दिनदेखि अब गाउँ-गाउँ, नगर-नगर र वडा-वडामा गएर गौडेलको टिमलाई जिताएर पार्टीलाई बलियो बनाउने प्रयासमा लाग्न आह्वान गरिन् ।

सभापतिका उम्मेदवार गौडेलले पार्टीलाई सशक्त र सुदृढ बनाउँदै आगामी सबै तहका निर्वाचनहरुमा विजयी बनाउने प्रणका साथ आफूहरु पार्टीको चुनावमा प्रतिष्पर्धा गर्न होमिएको बताए । उनले आफ्नो टिमले जितेपछि पार्टी सशक्त ढंगले अघि बढ्ने बताए । “यो संघर्षशील, कर्मशील युवाहरुको टिम हो, यो गफ गर्ने टिम होइन,” उनले भने, “यो फिल्डमा गएर काम गर्ने टिम हो, क्षेत्रीय प्रतिनिधिहरुले विश्वास गरेर हामीलाई जिताउनुस्, हामी बाँकेमा कांग्रेसलाई एक छत्र बनाउन लाग्नेछौं ।” उनले चार बर्ष अहोरात्र खटिएर कांग्रेसलाई सशक्त बनाउन लाग्ने बताए ।

संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) ले इमान्दार र कर्मशील गौडेल समूहलाई जिताउन सबैजना तन, मन र बचनले कटिबद्ध भएर लाग्नुपर्ने बताए । लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् युवा नेता टेकनारायण भुषालले कांग्रेसका इमान्दार कार्यकर्ताहरुको खस्केको मनोबल उकास्दै आगामी निर्वाचनहरुमा कांग्रेसलाई जिताउन गौडेल समूहलाई विजयी बनाउन आवश्यक रहेको बताए । गौडेल समूहले यही १९ गते आफ्नो समूहका उम्मेदवारहरुको घोषणा पनि गर्न लागेको बताएको छ । दिउँसो १ बजे पार्टी कार्यालयमा उम्मेदवार घोषणा कार्यक्रम गर्न लागिएको सम्पर्क कार्यायल संयोजक युवा नेता डिल्ली गिरीले बताए ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस नेता कार्यकर्ता, विभिन्न भ्रातृ संगठनका नेता कार्यकताहरुको उपस्थिति थियो । जिल्ला सचिव तप्त पौडेल, नेता हुर्मत न्यौपाने, प्रदेश कमिटी सदस्यहरु प्रेम केसी, इशाक जोलाह, अन्जना पाण्डे, दिक्षा कोइराला, प्रमेश्वरी पाठक, कृष्णा सापकोटा चौधरी, प्रदेशसभा १ ख का सभापति बलराम शर्मा, कोहलपुर नगर सभापति विरेन्द्र शाह, सचिव पदका उम्मेदवार सुधांशु कोइराला लगायतको उपस्थिति थियो । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, महिला संघ, दलित संघ, आदिवासी जनजाती संघ, मुस्लिम संघ, प्राध्यापक संघ लगायतका संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरु पनि उपस्थित थिए ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषालको सभापतित्वमा सम्पन्न भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x