१२ भाद्र २०८३, शुक्रबार

बाङ्लादेशमा फेरि एक हिन्दु युवकको मृत्यु

एसीपी संवाददाता

११ पुष २०८२, शुक्रबार ११:०३ मा प्रकाशित

बंगलादेशमा अतिवादी हिंसा फेरि एकपटक सतहमा आएको छ। भीडद्वारा कुटपिट गरी एक २९ वर्षीय हिन्दू युवकको हत्या गरिएको घटनाले देशमा धार्मिक अल्पसंख्यकको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

घटना बुधबार राति करिब ११ बजे राजबारी जिल्लाको होसेन्डांगा गाउँमा भएको हो। प्रहरीका अनुसार मृतकको पहिचान अमृत मण्डल उर्फ सम्राटका रूपमा गरिएको छ। उनी सोही गाउँका स्थायी बासिन्दा थिए।

प्रहरीले अमृतमाथि जबरजस्ती चन्दा असुली गरेको आरोप लागेको र त्यसकै कारण भीडले कुटपिट गरी हत्या गरेको जनाएको छ। पाङ्शा प्रहरी चौकीमा अमृतविरुद्ध यसअघि दुईवटा मुद्दा दर्ता रहेको प्रहरीले जानकारी दिएको छ, जसमा एउटा हत्यासम्बन्धी मुद्दा समेत रहेको बताइएको छ।

स्थानीय सञ्चारमाध्यम द डेली स्टार का अनुसार अमृतमाथि आपराधिक गिरोह सञ्चालन गरी लामो समयदेखि चन्दा असुली तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोप थियो। उनी केही समय भारतमा लुकेर बसेपछि हालै मात्र गाउँ फर्किएका थिए।

डिसेम्बर २४ को राति अमृत र उनका केही साथीहरू गाउँकै एक व्यक्तिसँग पैसा असुल्न उनको घर पुगेका थिए। त्यस क्रममा परिवारका सदस्यहरूले ‘चोर, चोर’ भन्दै कराएपछि स्थानीयहरू जम्मा भएका थिए। भीडले अमृतलाई कुटपिट गर्दा घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ। उनका अन्य साथीहरू भाग्न सफल भएका थिए भने एक जनालाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ।

यसअघि पनि डिसेम्बर १८ मा ढाका नजिकै एक हिन्दू युवक दिपु चन्द्र दासलाई भीडले कुटपिट गरी हत्या गरेको घटना सार्वजनिक भएको थियो। पछि उनलाई झुण्ड्याएर जलाइएको आरोपसमेत लागेको थियो। तर अनुसन्धानले दिपु दासमाथि लगाइएका धार्मिक भावनामा चोट पुर्‍याएको आरोप पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको जनाएको छ।

यसबीच बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले अन्तरिम सरकारले देशमा गैर–मुस्लिम अल्पसंख्यकहरूविरुद्ध ‘अकल्पनीय र भयानक अत्याचार’ भइरहेको आरोप लगाएकी छन्। उनले अगस्टमा आफ्नो सरकार पतन भएपछि हिन्दू तथा अन्य अल्पसंख्यक समुदाय निरन्तर हिंसाको सिकार बनेको दाबी गरेकी छन्।

मानवअधिकारकर्मीहरूका अनुसार पछिल्ला घटनाहरूले बंगलादेशमा कानूनको शासन कमजोर हुँदै गएको र अफवाह तथा भीडको न्यायले निर्दोष नागरिकको ज्यान जाने अवस्था सिर्जना भएको संकेत गर्छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। Loktantra Nepal

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x